
काठमाडौं, मंसिर ४ । पाठ्यक्रम प्रारुपविरुद्धको मुद्दाको बिहीबार (आज)को सुनुवाइ स्थगित भएको छ ।
अबको पेसी यही मंसिर २४ गतेका लागि तोकिएको छ ।
शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले यही शैक्षिकसत्रबाट लागू गरेको विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुपविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
उक्त मुद्दाको सुनुवाइ न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमाको इजलासमा तोकिएको थियो ।
नयाँ पाठ्यक्रम प्रारुपले कक्षा–११ र १२ मा गणित विषयलाई अवमूल्यन गरेको तर्कसहित भागवता अर्यालले मुद्दा दायर गर्नुभएको थियो ।
साविकका निजी ‘प्लस टु’ सञ्चालकहरुको सहयोगमा गणित समाजका तर्फबाट उक्त मुद्दा हालिएको सम्बद्ध व्यक्तिहरुले बताउने गरेका छन् ।
यद्यपि, समाजले उक्त विषय आफूहरुको पनि चासोको विषय भएपनि मुद्दामा कसैसँग कुनै सहकार्य नभएको बताउँदै आएको छ ।
कक्षा–११ र १२ मा सामाजिक र जीवनोपयोगी शिक्षा लागू गर्ने मन्त्रालयको निर्णयको निजी विद्यालय सञ्चालकहरुले विरोध गर्दै आएका छन् ।
थप विषय अध्यापन गराउँदा जनशक्ति थप गर्नुपर्ने, नाफा घट्ने तथा पुराना पुस्तकहरुको ‘स्टक’ रहेकाले निजीका सञ्चालकहरुले पाठ्यक्रमको विरोध गरेका आरोप लाग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्