
भक्तपुर, मंसिर ४ । मध्यपुरथिमि निवासी १५ वर्षीया निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने र भिडियो टिकटकमा ‘अपलोड’ गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर, भक्तपुरले बिहीबार भक्तपुर नगरपालिका–५, टौमढीबाट उनीहरुलाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो ।
निकिशामाथि भक्तपुर नगरपालिका–१, दूधपाटीमा गत मंगलबार दुर्व्यवहार गरी बुधबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो ।
त्यसलगत्तै नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्यूरोलाई छानबिन र अनुसन्धान गर्न पत्राचार गरेपछि भक्तपुर प्रहरीले पक्राउ गरेको बताइएको छ ।
सार्वजनिक भएको भिडियोमा स्कुटरमा सवार व्यक्तिले निकिशालाई लैंगिक विभेद र अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेको र आफूलाई दुर्व्यवहार गरेपछि श्रेष्ठले ती मानिसलाई लखेटेको देखिन्छ ।
प्रहरीले बिहीबार बिहान टौमढी निवासी १७ वर्षीय विशेष जोशी, अपराह्न दूधपाटी बस्ने १७ वर्षीय रितश लाखेलाई तौमढीस्थित आफन्तको घरबाट र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई वडा नम्बर–१, भार्वाचोबाट पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।
प्रहरीको अनुसन्धानमा खत्रीले स्कुटर चलाएको, लाखेले अपशब्द बोल्दै भिडियो खिचेको र जोशीले भिडियो अपलोड गरेको खुलेको छ ।
प्रहरीको साइबर ब्यूरोले यसबारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्