
काठमाडौं, मंसिर ५ । विश्व स्वास्थ्य संगठनले कोरोना उपचारमा रेमडेसिभिर एन्टिभाइरल औषधि खासै प्रभावकारी नदेखिएको जनाएपनि नेपालमा भने प्रभावकारी पाइएको एक अध्ययनले देखाएको छ ।
कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था नाजुक भएका बिरामीहरुका लागि प्रयोग गरिँदै आएको रेमडेसिभिर र प्लाज्मा थेरापीबाट गरिएको उपचारले राम्रो नतिजा देखाएको पाइएको हो ।
भेन्टिलेटर र आईसीयूमा पुगेका बिरामीको जीवनरक्षा गर्न सरकारले आपत्कालीन प्रयोगका लागि ल्याएको यो औषधिको दुष्प्रभाव पनि निकै कम देखिएको छ ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो अध्ययनले कोरोना उपचारमा रेमडेसिभिर एन्टिभाइरल औषधि खासै प्रभावकारी नदेखिएको जनाएपनि नेपालमा भने केही हदसम्म प्रभावकारी पाइएको एक अध्ययनको प्रारम्भिक नतिजाले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनाका ३५० जना बिरामीमा रेमडेसिभिर औषधि र ९२ जनामा प्लाज्मा थेरापीले पार्ने प्रभावसम्बन्धी गरेको प्रारम्भिक अध्ययनले राम्रो नतिजा देखाएको हो । अध्ययनले यी उपचारबाट निको हुने दर बढ्ने देखाएको हो ।
यी औषधि संक्रमितको उपचारमा प्रभावकारी रहनुका साथै दुष्प्रभावसमेत निकै कम देखिएको अध्ययनले देखाएको छ ।
परिषद्का सदस्यसचिव प्रदीप ज्ञवालीले कुल एक हजार २०० जनामा अध्ययन गरिएकोमा हालसम्म सबैको तथ्यांक संकलन सकिएको तर विश्लेषणको काम बाँकी रहेको जानकारी दिनुभयो ।
अध्ययन हाल ५० ओटा अस्पतालमा भइरहेको हो ।
परिषद्ले प्रारम्भिक रिपोर्ट स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको छ ।
कोरोना संक्रमितको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपश्चात् स्वास्थ्यमा सुधार ल्याउन रेमडेसिभिर र प्लाज्मा थेरापीबाट उपचार गरिँदै आएको थियो ।
यस पद्धतिबाट नेपालमा पहिलोपटक विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र कार्कीको उपचार गरिएको थियो ।
डा. कार्कीको स्वास्थ्य अवस्था सुधार भएपश्चात् सरकारले रेमडेसिभिर औषधिको आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको थियो ।
त्यसपश्चात् स्वास्थ्य अवस्था नाजुक भएका व्यक्तिमा प्रयोग गर्न सुरु गरिएको हो । जसमा स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानसमेत थालेको थियो ।
अध्ययनले औषधि र प्लाज्मा थेरापीबाट निको हुने दर र लक्षणसमेत कम हुँदै गएको देखाएको हो ।
अध्ययनले औषधि सुरुको अवस्थामा नै प्रयोग गर्दा राम्रो नतिजा दिएको पनि देखाएको छ । तर, मृत्युदर घटाउँछ कि घटाउँदै भन्नेबारे भने अध्ययन नभएको परिषद्ले जनाएको छ ।
रेमडेसिभिरले ५ प्रतिशतभन्दा कममात्र दुष्प्रभाव देखाएको थियो भने प्लाज्मा थेरापीमा ९२ जनामा दुईजनालाई ‘साइड इफेक्ट’ देखिएको थियो ।
परिषद्ले औषधि व्यवस्थापन विभागबाट स्वीकृति पाएका तीन कम्पनी र बंगलादेशबाट अनुदानमा आएका औषधिलाई लिएर अध्ययन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्