
ललितपुर, मंसिर ५ । गुथी नेपालको मौलिक परम्परा हो । लिच्छविकालमा ‘गोष्ठीका’ हुँदै आजपर्यन्त गुथी निरन्तर चलिरहेको छ । जसले नेपालको धार्मिक र साँस्कृतिक पहिचानलाई जीवन्त तुल्याएको छ ।
तर, यही निजी गुथीका सदस्यहरुबीच बेमेल र असमझदारीका कारण हजारौं वर्ष पुराना सम्पदा संकटमा परेका छन् ।
नेपाल मण्डलको यल अथवा ललितपुर ललितकलामा विश्व प्रसिद्ध रहेको छ । यहाँको पाटन दरबार क्षेत्र विश्व सम्पदामा सूचीकृतसमेत रहेको छ ।
तर, विडम्बना यही क्षेत्रमा जोडिएको क्वपछें ननीमा करिब ९०० वर्ष पुरानो मानिएको बज्रबाराहीको ‘आगँ छें’ आगम घर संरक्षणको अभावमा चरम संकटमा परेको छ ।
लाखे थर भएकाहरुको निजी गुथीमा रहेको यो घर २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएको थियो । तर, गुथीका सदस्यहरुबीच बेमेल र असमझदारीका कारण हालसम्म पनि पुनःनिर्माण हुन सकेको छैन ।
पुरातात्विक र ऐतिहासिक महत्वको यो आगम घरबाट बज्रबाराहीको तान्त्रिक मूल मूर्ति चोरी भइसकेको छ ।
नेपाल संवत् ८२६ मा घर जीर्णोद्वार गरेर मूलढोका राखेको सोही ढोकाको अभिलेखमा देख्न सकिन्छ । जुन ढोकामात्र ३१५ वर्ष पुरानो रहेको पुष्टि हुन्छ ।
यहाँ हरेक वर्ष रातो मच्छिन्द्रनाथ रथजात्रा गर्नुपूर्व पूजा गर्नुपर्छ भने देशको उद्वार गर्ने पूजा देशीपूजा पनि यहीँ गरिन्छ ।
यस्तो महत्वपूर्ण यो आगम घर भग्नावशेषको रुपमा परिणत हुँदा पनि पुनःनिर्माण गर्न गुथी सदस्यहरुले न त आफैंले गर्ने पहल गरेका छन्, न त कसैको सहयोग मागेका छन् ।
लाखे गुथीका सदस्य प्रकट गोविन्द लाखे पुनःनिर्माण गर्ने तयारी गरेको त हो तर सदस्यहरुबीच बेमेलका कारण अगाडि बढ्न नसकिएको बताउनुहुन्छ ।
करिब ९०० वर्ष पुरानो मानिएको बज्रबाराहीको पूजा गर्न गुथीअन्तर्गत् बानेश्वरमा दुई रोपनी सात आना जग्गासमेत रहेको छ ।
घरमा नै होनचाःको प्रसिद्ध नेवारी खाजा सञ्चालनमा रहेको र पसलले दिएको घरबहालको आम्दानीले नित्य पूजा हुँदै आएको छ ।
सदस्यहरु नै बीच एकार्कालाई पन्छाएर जग्गा व्यक्तिको नाममा गर्ने प्रयास भइरहेको बुभिएको छ ।
गुथीले नै नेपालको पहिचानलाई जोगाएको छ । त्यसैले व्यक्तिगत स्वार्थ त्यागेर सदस्यहरुबीच समझदारी कायम गरी शताब्दी पुरानो सम्पदा बचाउनुको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस्