१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेकपाको घरझगडामा चिनियाँ र भारतीय पक्षको चासो किन ?


0
Shares

काठमाडौं, मंसिर ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला भारतीय र चिनियाँ चासो तीव्ररुपमा बढेको छ । नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत हाउ यान्छी निकै सक्रिय देखिइन् ।

यहीबीचमा चीन र भारतका विदेशमन्त्रीको समानान्तर भ्रमणका कार्यक्रम तय भएका छन् ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला भारतीय र चिनियाँ पक्षबाट बढाइने तीव्र भेटघाटलाई भने परराष्ट्रविद्हरु असामान्य सक्रियताको संज्ञा दिन्छन् ।

नेकपा विवाद दुर्घटनातर्फ धकेलिएको बेला विगतमा जस्तै चिनियाँ चासो अभिव्यक्त भएको छ भने भारतीय पक्षले पनि त्यसलाई पछ्याइरहेको छ ।

भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीको गोप्य भेटघाटसँगै चुलिएको नेकपा विवाद फुटकै संघारमा पुगेका बेला चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्रीसँग भेट गरेसँगै तत्कालका लागि विवाट टरेको जस्तो देखिएको छ ।

तर, भारतीय र चिनियाँ पक्षको चासो भने यतिमै सीमित छैन । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् भने भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृङ्लाको पनि भ्रमण तय भएको छ ।

भारतबाट एकपछि अर्को कूटनीतिक प्रतिनिधिको नेपाल भ्रमण हुनु र चिनियाँ पक्षको भेटघाट बाक्लिनुलाई भने विभिन्न कोणबाट टिप्पणी भइरहेको छ ।

परराष्ट्र मामलाका जानकार डा. सागर न्यौपाने चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीका समानान्तर उद्देश्य र चीनले नेपालमा स्थायित्वको चाहना राखेकाले चासो बढाएको टिप्पणी गर्नुहुन्छ ।

तर, नेकपाको घरझगडामा चिनियाँ चासो यो पहिलोपटक भने होइन । यसअघि, वैशाख र असारमा पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीको राजीनामा मागिँदा राजदूत यान्छीले राष्ट्रपति विद्या भण्डारीसँगै नेकपाका सबैजसो शीर्ष नेतृत्वसँग छुट्टा–छुट्टै भेट गरेकी थिइन् ।

चीनले आफ्ना परियोजना सञ्चालनका लागि स्थायी नेतृत्व चाहेकोले चासो बढाएको परराष्ट्र मामिलाका जानकार डा. उद्धव प्याकुरेलको टिप्पणी छ ।

त्यसो भए भारतले पनि किन समानान्तर भेटघाट तीव्र पारिरहेको भन्ने सवालमा भने चिनियाँ पक्षको सक्रियतासँगै कूटनीतिक मित्रतालाई सुदृढ पार्न भारतले चासो दिएको उहाँको भनाइ छ ।

नेकपाको घरझगडा पार्टीको आन्तरिक मामिला भएपनि स्थायी कूटनीतिक सम्बन्धलाई कायम राख्न सत्ताधारी दलसँग छिमेकी राष्ट्रहरुका प्रतिनिधिको भेटघाटलाई सामान्य मानिएपनि पछिल्लो समय नेकपा विवादमा चिनियाँ राजदूतको भने असामान्य सक्रियता देखिएको छ ।

यसलाई केवल औपचारिक भेटघाटभन्दा भूराजनीतिक दृष्टिकोणबाट हेरिनुपर्ने विज्ञहरुको मत छ ।

भिडियो हेर्नुहोस्