
काठमाडौं, मंसिर ६ । महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले सहमतिको खाका तयार पार्न ढिलाई गर्दा नेपाली कांग्रेसभित्रको कलहले किनारा पाउला कि नपाउला, अझै यसै भन्न सकिने अवस्था छैन ।
पाँचपटकभन्दा बढी केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर विवादका विषयमा संस्थापन र इतर समूहले छलफल गरेपनि विवाद अझै मत्थर हुन नसकेको हो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस महाधिवेशनको सम्मुखमा क्रियाशील सदस्यता वितरण, भ्रातृसंस्थाको महाधिवेशन, विभागहरुको गठन र खारेजीलगायतका विषयमा रुमलिएको छ ।
कात्तिक २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले गठन भएको विभागबाहेक अधिकांश विषयमा सहमति जुटाउने अपेक्षा गरिएको थियो ।
बैठकको सहमतिबमोजिम मंसिर मासान्तभित्र क्रियाशील सदस्यताको सूची केन्द्रमा पठाउन जिल्लाहरुलाई पार्टीले ताकेता गरेपनि अन्य विवाद समाधानमा विषयमा भने कुनै प्रगति हुन सकेको छैन ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको मतअनुसार पार्टीमा क्रियाशील सदस्यताको विवादले किनारा पाएको छैन ।
यस्तै, भ्रातृ तथा शुभेच्छुक संस्थाले अधिवेशन नगरी पार्टी महाधिवेशनमा प्रतिनिधित्व गराउन नहुने मागलाई सभापति शेरबहादुर देउवाले बेवास्ता गरेको पौडेल समूहको गुनासो छ ।
तर, संस्थापन पक्षले भने यसलाई महाधिवेशनकेन्द्रित फन्डाको रुपमा बुझेको छ ।
गठन भएका विभागहरु खारेज गर्नुपर्ने पौडेल समूहको अडानमा पनि सभापति देउवा गम्भीर देखिनुभएको छैन ।
आसन्न १४औं महाधिवेशनमा नौ लाखभन्दा बढी क्रियाशील सदस्य पुर्याउने महत्वाकांक्षा साँध्नुभएका उहाँले विजयकुमार गच्छदारसहितका नेताहरुलाई भाग रिझाउन विभाग थप्ने अन्तिम गृहकार्य गरिरहनुभएको बताइन्छ ।
केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ पार्टीको विवादमा देउवामात्र गलत भन्ने ठाउँ नभएको तर्क गर्नुहुन्छ ।
यता, माग सम्बोधन नभए आन्दोलनमा जाने तयारी पौडेल समूहको छ ।
फागुनमा महाधिवेशन असम्भव देखेका कांग्रेसीहरु विवादकैबीच महाधिवेशन कार्यतालिका हेरफेर गर्ने गृहकार्यमा छन् ।
संस्थापन र इतर दुवै समूहका नेताहरुलाई महाधिवेशनबाट शक्तिआर्जन गर्नुपर्ने अवस्था छ ।
अहिलेको विवादलाई ट्ंग्याउँदा दुवै समूहका मुद्दा कमजोर बन्ने हुँदा पनि कांग्रेसमा आन्तरिक किचलो छिट्टै समाधान हुने सम्भावना देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्