१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट


0
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट हुनुभएको छ ।

बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका लागि छनोट हुनुभएको हो । पार्कीले छैटौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्नुभएको हो ।

पार्कीले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक जित्नुभएको थियो ।

पच्चीस खेलाडीे सहभागी म्याराथनमा पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा १८ मिनेट ५९ सकेन्डमा पूरा गर्नुभएको थियो ।

नेपाली सेनाका कृष्ण बस्नेत दोस्रो हुनुभयो । उहाँले दुई घण्टा २० मिनेट ४९ सेकेन्डमा दौड पूरा गर्नुभयो ।

नेपाली सेनाकै खगेन्द्र भाट दुई घण्टा २७ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो हुनुभयो ।

पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु ७५ हजार, रु ३० हजार तथा रु १० हजार पुरस्कार प्राप्त गर्नुभएको आयोजक संस्था क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको महामारीका कारण अन्य प्रतियोगिता आयोजना हुन नसक्दा नेपाल ओलम्पिक कमिटी ९एनओसी०ले नेपालगञ्ज म्याराथनको विजेतालाई टोकियो ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो ।

यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी पुष्पा भण्डारीले जित्नुभयो । तेह्रौं सागको हाफ म्याराथनमा रजत पदक जित्नुभएकी पुष्पाले निर्धारित दूरी एक घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्नुभयो ।

उहाँले रु ३० हजार पुरस्कार प्राप्त गर्नुभयो । यस्तै कर्णाली प्रदेशकी मञ्जु रावत एक घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो हुनुभयो भने शर्मिला घर्तीले एक घण्टा ३८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभयो । रावत र घर्तीले क्रमशः रु १५ हजार र रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो । रासस