
काठमाडौं । चितवनमा स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजीको घटनाप्रति विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले घटनाका बारेमा शनिबार सामाजिक संजाल ट्वीटरमा लेखेको टिप्पणीबारे प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रतिपादपूर्ण जवाफ दिनुभएको छ ।
‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क.सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ। यसप्रकारको दुर्व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन। चेत होस्’, श्रेष्ठले ट्विटरमा लेख्नुभएको थियो ।
सोही ट्वीटलाई लिएर थापाले बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार गरेको नदेख्नेले चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार भन्दै विज्ञप्ति जारी गरेको भन्दै आपत्ति प्रकट गर्नुभएको हो ।
उहाँले ट्वीटरमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिँदै भन्नुभएको छ, ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिँदा निदाउनुभएको थियो क्यारे! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ । गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी! दुवै स्थायी कमिटी सदस्य– तब न नारायणकाजी ।’
शनिबार पार्टीको कार्यक्रममा गुटबन्दी गरेको आरोपमा नेता पाण्डेविरुद्ध ओली समूहका कार्यकर्ताले नाराबाजी गरेका थिए।
उक्त नाराबाजीको घटनालाई प्रचण्ड–नेपाल समूहले सुनियोजित भन्दै निन्दा गरेपछि ओली समूहका नेताले पनि जवाफी प्रत्यारोप लगाएका छन्।
प्रतिक्रिया दिनुहोस्