
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक कलह बढेसँगैं नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीको सक्रियता पनि बढेको छ ।
केही समय अघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी यान्छीले आज अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ ।
प्रचण्डलाई भेट्न राजदूत याङ्छी सोमबार प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा छलफल भएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार यान्छीले पार्टी विवाद समाधानका लागि भूमिका खेल्न प्रचण्डलाई आग्रह गर्नुभएको थियो ।
प्रचण्डले जवाफमा आफू पार्टी एकताकै पक्षमा रहेको र हाल देखिएको समस्या समाधानको विकल्पको खोजीमै रहेको बताउनुभएको थियो ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने उहाँहरुबीच चीनका राष्ट्रपति सी जिनफिङको किताब हस्तान्तरण, चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको अन्तरसम्बन्ध तथा त्यसको पछिल्लो आयामबारे छलफल भएको बताउनुभयो ।
नेकपाभित्र विवाद बढ्दै जाँदा यसअघि मंसिर २ गते राजदूत यान्छीले प्रधानमन्त्री केपी ओलीसंग बालुवाटारमा भेट गर्नुभएको थियो ।
त्यसअघि बैशाखमा पनि नेकपाको विवाद उत्कर्षमा पुगेका बेला उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, प्रचण्ड लगायतका नेताहरुसंग छट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्