
पोखरा, मंसिर ८ । ‘युआरएल पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ ।
गण्डकी प्रदेशकै पहिलो ‘रेफरेन्स ल्याब’ युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र सञ्चालन गरेको सो पुरस्कारको राशि नगद २० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।
अग्रज पत्रकार रवीन्द्र बास्तोला संयोजक र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. माधव तिवारी र इन्सेक गण्डकी संयोजक शिव खकुरेल सदस्य रहेको प्रतिभा छनोट समितिले पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
इमेज च्यानलका गण्डकी ब्यूरो प्रमुख पौडेल रेडियो बाराहीका समाचार संयोजक पनि हुनुहुन्छ ।
वि.सं. २०५९ मा पत्रकारिता सुरु गर्नुभएका पौडेल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष र नेपाल प्रेस युनियन कास्की सचिवसमेत हुनुहुन्छ ।
यही मंसिर २३ गते युआरएलको वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कार प्रदान गरिने युआरएलका सञ्चालक ठाकुरप्रसाद पन्तले जानकारी दिनुभयो ।
यसअघि, सो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्