१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


टारीगाउँ विमानस्थलमा ६० हजार लिटर क्षमताको हवाइ इन्धन रिफ्युलर राखिने


0
Shares

काठमाडौं । नेपाल आयल निगमले लुम्बिनी प्रदेशको राजधानीमा हवाइ इन्धन रिफ्युलर राख्ने भएको छ ।

दाङको टारीगाउँ विमानस्थलमा ६० हजार लिटर क्षमताको हवाइ इन्धन रिफ्युलर राखिने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । उनले ३० किलोलिटर क्षमताका दुई वटा रिफ्युलर सहितको अटोमेटिक ट्यांक जडान गर्ने प्रक्रिया अघि बढेको बताए ।

दैनिक तीनवटा जहाजले उडान भरेपनि १५ दिनलाई इन्धन भर्न पुग्ने गरी रिफ्युलर जडान गर्न लागिएको हो । एयरपोर्टमा यो सुविधा नहुँदा समस्या हुँदै आएको छ । विमानले अतिरिक्त इन्धन बोक्दा भार सन्तुलन गर्न केही सिटमा यात्रु नराखी उडान भर्नुपर्ने वाध्यता छ ।

विमानस्थलमा निगमको कार्यालय भवनसहितको संरचना निर्माण र रिफ्यूलरको जडान यसैवर्षभित्र सक्ने योजनासहित निगम अगाडि बढेको बताइएको छ ।

यो विमानस्थलबाट दाङसहित लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, सल्यान र प्यूठान लगायतका जिल्लाहरुमा हवाई सेवामार्फत सहज पहुच पुग्ने विश्वास लिइएको छ । यसकै लागि आयल निगमले स्मल एएफ्स प्रोजेक्टको कार्य प्रारम्भ गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

निगमका कार्यकारी निर्देशक पौडेलसहित तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, स्थानीय जनप्रतिनिधिहरु, नागरिक उड्डयन प्राधिकरण केन्द्रीय कार्यालयका प्रतिनिधि इन्जिनियर पुष्पराज न्यौपाने लगायतको टोलीले सोमबार विमानस्थलको मुल गेटको दक्षिणतर्फ स्थापना गर्ने यकिन गरेको हो ।

साथै निगमको संरचना पूर्णरुपमा आइसोलेट र उच्चतम सुरक्षा प्रवन्ध गर्नुपर्ने भएकाले रिफ्युलरको गतिलाई पूर्णरुपले आइसोलेट रहने गरी उक्त स्थानमा आवश्यक पूर्वाधार एवं संरचना निर्माणमा तुलसीपुर उपमहानगरपालिकाले सहयोग गर्ने निर्णय भएको पनि आयल निगम लुम्बिनी प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।