
बझाङ, मंसिर ९ । बझाङको अति विपन्न वादी समुदायलाई भोकसँगै चिसोले सताएको छ ।
जग्गा–जमिन नहुँदा मागेरै गुजारा चलाउने यो समुदाय सरकारी सहयोगको आशामा छ ।
बझाङको थलारा गाउँपालिकाको खोली र सदरमुकाम चैनपुरमा बस्दै आएका वादी समुदायको अवस्था दयनीय बन्दै गएको छ ।
बझाङकै अति विपन्न समुदायको रुपमा रहेका यहाँका २८ परिवार थलारामा र १३ परिवार सदरमुकाम चैनपुर बस्दै आएको यस समुदायका मानिसको जग्गा–जमिन नहुँदा मागेरै पेट पालो गर्ने गरेका छन् ।
गाउँगाउँ डुल्दै नाचगान गर्ने र माग्दै खाने गरेका वादी समुदायलाई अहिलेपनि पेट पालो गर्ने र जाडोमा न्यानो कपडाकै समस्या छ ।
यो समुदायका कतिपय बालबालिकाको अवस्था त झन् दयनीय छ । अभिभावकविहीन बालबालिकालाई समुदायलेसमेत बेवास्ता गर्दा शिक्षा–दीक्षाको त कुरै छाडौं, अपहेलनाको सिकार हुनुपरेको छ ।
आफ्नो जग्गा नहुँदा खेतीपाती गर्न नपाउने र सीपसमेत नहुँदा यो समुदायका मानिसले विभिन्न समस्या खेप्दै आएका छन् । कतिपयले अरुको भारी बोकेर र ज्याला–मजदुरी गरेर पनि जीविका चलाउँदै आएका छन् ।
तर, बुढेसकाल लागेपछि एक छाक खानाको जोहो गर्नसक्ने अवस्थासमेत उनीहरुको छैन ।
हिउँदको चिसोमा रात काट्न यो समुदायका मानिसलाई समस्या भएको छ । विगतका वर्षहरुमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले न्यानो कपडा वितरण गर्दै आएपनि यसपटक उनीहरुलाई कसैले सहयोग गरेको छैन ।
त्यसैलेपनि यस वर्ष भने सरकारले यस समुदायको पीडालाई बुझेर दीर्घकालीनरुपमा समस्या समाधान गर्न पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्