१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शंखधर संग्रहालयसहितको सामुदायिक भवन उद्घाटन


0
Shares

भक्तपुर, मंसिर ९ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मध्यपुरथिमि नगरपालिका शंखधर चोकमा निर्माण गरिएको शंखधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान भवनको उद्घाटन गर्नुभएको छ ।

शंखधर दिवसको अवसर पारेर मंगलबार मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको भवन उद्घाटन कार्यक्रममा उहाँले नेपाल संवत् नेवार समुदायको मात्रै संवत् हो भन्ने भ्रम आजैबाट सबैले हटाउनुपर्ने बताउनुभयो ।

शाक्यले भन्नुभयो–‘नेपाल संवत् राष्ट्रिय संवत् हो । यो सबै नेपालीको संवत् भएकाले यसमा कसैले पनि भ्रम पाल्नु हुँदैन । शंखधर राष्ट्रिय विभूति भएकाले उहाँको सबैले सम्मान गर्नुपर्छ ।’

उहाँले राज्यलाई योगदान गरेका व्यक्ति, सहिद एवं राष्ट्रिय विभूतिलाई सबैले चिरकालसम्म चिनून् र सम्झिरहून् भन्ने हेतुले महानगरपालिकाले उहाँहरुको सम्मानमा सालिक निर्माण गर्दै आएको बताउनुभयो ।

‘साख्वाःको मात्रै होइन, महानगरपालिकाले जहानियाँ राणा शासनविरुद्धको लडाइँका क्रममा सहादत प्राप्त गरेका चार सहिद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीको सम्झनामा पूर्णकदको सालिक निर्माण गरिसकेको छ’–उहाँले भन्नुभयो–‘उनीहरु चारैजनालाई मृत्युदन्ड दिएको स्थान शोभाभगवती, सिफलस्थित र टेकुमा पूर्णकदको सालिक निर्माण गरेको छ । धर्मभक्तको पुर्ख्यौली टोल झोँछेमा पनि हामीले उनको नाममा पार्क र सालिक निर्माण गरेका छौं ।’

त्यसअवसरमा वाग्मती प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले शंखधर साख्वाःको सम्झनामा मध्यपुरथिमिमा बनेको भवन र त्यसभित्रको संरचना इतिहास बनेर रहने चर्चा गर्नुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आजभन्दा ११४१ वर्षअघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाः अहिले पनि उपत्यकाबासीको मन–मुटुमा रहेको बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले नगरपालिकाको रु ९० लाख, सांसद महेश बस्नेतको सांसद कोषबाट रु ५० लाख र शंखधर प्रतिष्ठानको तर्फबाट जनश्रमदानसहित रु १० लाख गरी रु एक करोड ५० लाखमा उक्त भवन उपभोक्ता समितिमार्फत् निर्माण भएको बताउँदै भवनमा अभिलेखालय, सूचना केन्द्र, संग्रहालय र सचिवालय रहने गरी चारतलाको भवन निर्माण भएको बताउनुभयो ।

साख्वाःको इतिहास भक्तपुर र काठमाडौंसँग जोडिएको स्मरण गराउँदै उहाँले काठमाडौं महानगरपालिकाको नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गतको आर्थिक सहयोगमा शंखधर पार्क निर्माण भइरहेको पनि जानकारी दिनुभयो ।

त्यसअवसरमा शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नेकपाका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, नेपाली कांग्रेस मध्यपुर नगरसमितिका सभापति सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलगायतले शंखधर साख्वाःले पुर्‍याएको योगदानका बारेमा चर्चा गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठलाई नगरप्रमुख श्रेष्ठले भवनको साँचो हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा शंखधर चोकस्थित साख्वाःको सालिकमा उपस्थित जनप्रतिनिधिले माल्यार्पण गर्नुभएको थियो ।