
प्यूठान, मंसिर १० । पैदलमार्गलगायतका पूर्वाधार निर्माण भएसँगै प्यूठानको झुलेनी छोटो समयमै पर्यटकहरुको रोजाइको केन्द्र बन्दै गएको छ ।
कोरोनाका कारण पर्यटकी क्षेत्र जुर्मुराउन नसकिरहेको अवस्थामा पनि यहाँ भने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
प्यूठानको प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिकाको सिमानामा स्थित पर्यटकीयस्थल झुलेनीमा पुनः चहलपहल बढेको छ ।
भण्डारीहरुको उद्गमस्थलका रुपमा चिनिने झुलेनी पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्र बन्दै आएको छ ।
धनञ्जयऋषि परापूर्वकालमा जुम्लाबाट रुकुमकोट हुँदै प्यूठानको झुलेनीमा आइ बसोबास गरेको र पछि उनका सन्तान विस्तारित हुँदै गएको स्थानीय भनेश्वर भण्डारीले बताउनुहुन्छ ।
समुद्री सतहदेखि दुई हजार १५० मिटर उचाइमा रहेको झुलेनी प्यूठान नगरपालिका–६ र नौबहिनी गाउँपालिका–८ को सीमावर्ती क्षेत्रमा पर्दछ ।
झुलेनीबाट प्यूठानको प्यूठान उपत्यकासहित बागलुङ, गुल्मी, अर्घाखाँची, दाङ जिल्लाका विभिन्न ठाउँ हेर्न सकिन्छ ।
धौलागिरि, माछापुच्छ्रेसहित स्वर्गद्वारीको पनि झुलेनीबाट अवलोकन गर्न सकिने भएकोले दैनिक सयौंको सख्यामा पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् ।
पहिले गुमनाममा रहेकोे झुलेनीमा पैदलमार्ग निर्माणलगायतका पूर्वाधार निर्माण गरेसँगै छोटो समयमै पर्यटकहरुको रोजाइको केन्द्र बन्दै गएको हो । झुलेनीमा अहिले धनञ्जय ऋषि र विन्दवासिनी देवीको मन्दिर छ ।
यस क्षेत्रमा आर्थिक वर्ष २०७५/७६ मा नेपाल पर्यटन बोर्डको १० लाख, प्यूठान नगरपालिकाको तीन लाख र नौबहिनी गाउँपालिकाको पाँच लाखमा भौतिक संरचनाहरु निर्माण भएका छन् ।
यस्तै, आर्थिक वर्ष २०७६/७७ मा डिभिजन वन कार्यालय प्यूठानको स्वर्गद्वारी, लिस्ने, झुलेनी, गौमुखी पदमार्गका लागि ५० लाख रुपैयाँ लागतमा काम भएको प्यूठान नगरपालिकाकी उपमेयर शान्ता आचार्यले जानकारी गराउनुभएको छ ।
झुलेनीजस्ता ऐतिहासिक महत्व बोकेका पर्यटकीयस्थलको विकास, भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिइ स्थानीयको आय–आर्जनमा वृद्धि गर्न सकिन्छ । जसका लागि स्थानीय तहले पर्यटकीयस्थलको विकासमा समयमै ध्यान दिन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्