१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सम्मानले थप प्रेरणा जगायो : सपना रोक्कामगर (भिडियोसहित)


0
Shares

काठमाडौं, मंसिर १० । ‘बीबीसी’ले सार्वजनिक गरेको २०२० को विश्वकै १०० जना प्रेरणादायी र प्रभावशाली महिलाहरुको सूचीमा पर्नुभएकी सपना रोक्कामगरले प्राप्त सम्मानले आफूलाई थप प्रेरणा जगाएको बताउनुभएको छ ।

बेवारिसे शवलाई दागबत्ती दिने र जलाउने कर्ममा सक्रिय १८ वर्षीया युवती सपनाले बुधबार ईमेज च्यानलसँग कुरा गर्दै कुनैपनि व्यक्ति मृत्युपछि पनि बेवारिसे बन्न नपरोस् भन्ने उद्देश्यका साथ शवको व्यवस्थापनामा खटिएको बताउनुभयो ।

बेवारिसे शवको व्यवस्थापन आफैंमा चुनौतीपूर्ण रहेको भन्दै उहाँले कतिपय अवस्थामा व्यक्तिगत खर्चमा पनि काम गरेको बताउनुभयो ।

कुनै समय सडकमै जीवन बिताउनुभएकी सपनाले सडककै दुःख देखेर आफू परोपकारको काममा लागेको बताउनुभयो ।

बेवारिसे व्यवस्थापन पुनर्जीवन केन्द्रमा आवद्ध सपनाले सयौं बेवारिसे शवलाई दागबत्ती दिइसक्नुभएको छ ।

बीबीसीले सार्वजनिक गरेको प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री र कोभिड–१९ विरुद्ध अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको ‘भ्याक्सिन’को रिसर्च टोलीकी अगुवा सराह गिल्वर्तसँगै नेपालकी सपना पनि पर्नुभएको हो ।

हेर्नुहोस्, सपना रोक्कामगरसँग गरिएको यो कुराकानीः