
काठमाडौं, मंसिर ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्ध समयानुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा मन्त्री ज्ञवालीसित भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले शिष्टाचार भेट गरेपछि उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री ज्ञवालीले नेपाल–भारत सम्बन्ध ऐतिहासिक भएकाले दुई देशको सम्बन्धको जग बलियो रहेको बताउनुभयो ।
भारतीय विदेशसचिव श्रृंगलाले नेपाल–भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि नबिग्रिएको दाबी गर्नुभयो ।
श्रृंगलाले कोरोनाविरुद्धको खोपमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले कोरोना उपचारमा प्रयोग हुने खोप पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
सो भेटपछि विदेशसचिव श्रृंगलाले भारत सरकारका तर्फबाट नेपालालाई सहयोगस्वरुप प्रदान गरिएको स्वास्थ्य सहायता हस्तान्तरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्