१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


कैलाली भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व असुली


0
Shares

कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार लक्ष्य भन्दा १० दशमलव ९५ प्रतिशत बढी राजस्व संकलन भएको हो ।

पहिलो चौमासिक अर्थात् कार्तिक मसान्तसम्म २ अर्ब ७६ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले बताएको छ ।

कार्यालयले पहिलो चौमासिकमा २ अर्ब ४९ करोड ४५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयका कम्प्युटर अपरेटर यज्ञराज जोशीले यो अवधिमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताउनु भयो ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा लक्ष्यको १९ प्रतिशत, भदौ महिनामा ११ प्रतिशत, असोजमा ७ प्रतिशत र कार्तिक महिनामा ८ प्रतिशत बढी राजस्व संकलन भएको छ ।

यस्तै पहिलो चौमासिकमा वार्षिक लक्ष्यको ३५ प्रतिशत राजस्व संकलन भएको पनि जोशीले बताउनुभयो ।

पेट्रोलियम पदार्थ, खाद्य वस्तु र मेसनरी सामानबाट बढी राजस्व संकलन भएको छ । यही हाराहारीमा राजस्व संकलन भए वार्षिक लक्ष्य भन्दा पनि बढी राजस्व उठने कार्यालयको दावी छ ।

यो कार्यालयले चालू आर्थिक वर्षमा ७ अर्ब ८७ करोड बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।