१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्खौलेबजारमा निर्माण गरिएको कृषि उपज संकलन तथा बिक्री केन्द्र उद्घाटन गर्न नपाउँदै जिर्ण


0
Shares

खोटाङ । कृषकहरुको लागि भनेर खोटाङको अर्खौलेबजारमा निर्माण गरिएको कृषि उपज संकलन तथा बिक्री केन्द्र जिर्ण भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको ४६ लाख ४४ हजार ६ सय ८६ रुपैयाँको लागतमा स्थापना भएको यो हाटबजार उद्घाटन हुन नपाउँदै जिर्ण भएपछि कृषकहरु समस्यामा परेका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर–१० अर्खौलबजारमा निर्माण गरेको कृषि मार्केट उद्घाटन गर्न नपाउँदै भत्किएको छ ।

नगरपालिकाले हाटबजार स्थापना गर्दा त्यहाँका स्थानीयलाई खबरै नगरी हचुवाको भरमा कामगर्दा यो अवस्थामा पुगेको स्थानीयको आरोप छ ।

जवरजस्ती डोजर लगाएर खारेको माटोबाटै वाल उठाएको, ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेकोले हाटबजार भत्किएको स्थानीयको भनाई छ ।

नगरपालिकाले बजेट सक्न एकलौटी रुपमा काम गर्दा संकलन केन्द्र जिर्ण बनेका कारण हाटबजारलाई पुनः व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् ।

निर्माण कार्य शुरु गरेको ठेकेदारले ठेक्का प्रक्रिया वापतको पुरै रकम बुझिसकेको अवस्थामा हालसम्म नगरपालिकाले कुनै चासो नदिएको स्थानीको आरोप छ ।

२०७७ असार २१ गते निर्माण सम्पन्न गर्ने गरि अनिल मल्टी कम्पनी प्रालीले २०७७ बैशाख ३१ गतेबाट निर्माण गर्ने ठेक्का पाएको थियो ।

कम्पनीका प्रमुख अनिलकुमार तामाङले नगरपालिकाको आदेशअनुरुप बजेट अनुसार काम गरिएको साथै इन्जिनियरको इस्टमेट अनुसारै काम गरेको दाबी गरेका छन् ।

नगरभरिका कृषकहरुले उत्पादन गरेको कृषि सामाग्रि विक्री नहुने भन्दै बजारको समस्या हल गर्नका लागि नगरपालिकाले ४६ लाख ४४ हजार रुपैंयाँको लागतमा निर्माण गरेको संकलन केन्द्र कृषकले नै उपयोग गर्न नपाएपछि उनीहरु समस्यामा परेका छन् ।

यता, वडाबाट बिक्री नभएका थोकवस्तुलाई नगरपालिकाले खरिद गरेर कृषि उपज बिक्री वितरण र विनिमय गर्ने वाताबरण बनाएर संकलन केन्द्रमा पुर्‍याइने उद्देश्यका साथ कृषि मार्केटको स्थापना गरिएको नगर प्रमुख इवन राइको भनाई छ ।

कतिपय ठेकेदारले कमिसनको लोभमा बनाएका संरचना हाल जिर्ण अवस्थामा पुगेका छन् ।

यसैको उदाहरण बन्न पुगेको यस कृषि मार्केटलाई चाडै व्यवस्थापन गराउन सर्वदलीय वैठक बसि ठेकेदार कम्पनीलाई निर्माण कार्य गराउन अब स्वयंम नगरपालिका र स्थानीय बासिन्दा आफै जागरुक भएर लाग्नुको विकल्प छैन ।