
काठमाडौं, मंसिर १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको दस्तावेजको जवाफ दिने कार्यसूची रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेस गर्नुहुँदै पार्टीको आगामी कार्यदिशाबारेसमेत समेट्नुहुनेछ ।
अध्यक्ष दाहालले पेस गर्नुभएको प्रस्तावमा उठाइएको प्रश्न तथा आरोपको बुँदागत तथा तथ्यगत जवाफ प्रतिवेदनमा आउने थापाले बताउनुभयो ।
गएको कात्तिक २८ गते बसेको सचिवालय बैठकमा दाहालले आफ्नो तर्फबाट बैठकमा प्रस्ताव पेस गर्नुभएको थियो । १९ पृष्ठ लामो उक्त दस्तावेज प्रस्तुत गरेसँगै नेकपाको विवाद थप चुलिएको हो ।
दाहालको प्रस्तावलाई प्रधानमन्त्री ओलीले आरोपपत्रको संज्ञा दिनुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपत्रलाई अस्वीकार गर्नेसमेत यसअघि नै बताइसक्नुभएको छ ।
प्रस्ताव फिर्ता लिन पटक–पटक ओली पक्षले आग्रह गरेपनि दाहालले अस्वीकार गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले आफूनिकटका नेताहरुमार्फत् दाहाललगायत विभिन्न नेतालाई प्रस्ताव फिर्ता लिएर दुवै अध्यक्षले संयुक्त प्रस्ताव पेस गर्न आग्रह गर्नुभएको थियो । तर, नेताहरुले आफूहरुको प्रस्ताव बैठकमै छलफल हुनुपर्ने अडान राखेका थिए ।
यसअघि, बसेको सचिवालय बैठकले यही मंसिर १८ गते स्थायी कमिटी बैठक बस्ने मिति तय गरिसकेको छ । त्यस्तै, मंसिर २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्