
काठमाडौं, मंसिर १४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ पेस गर्नुभएको छ ।
शनिबार बालुवाटारमा बसेको बैठकमा अध्यक्ष ओलीले गएको कात्तिक २८ गतेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गर्नुभएको प्रस्तावको जवाफपत्र पेस गर्नुभएको हो ।
उहाँले प्रस्तुत गर्नुभएको प्रतिउत्तरमा रहेका विषयवस्तुबारे भने केही खुलाइएको छैन ।
ओलीले लिखित जवाफ पेस गरेपछि दुवै अध्यक्षका प्रस्तावको अध्ययन गरी छलफलका लागि यही मंसिर १६ गते पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले अध्यक्ष ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको र दुवै अध्यक्षका प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुने बताउनुभयो ।
शनिबारको बैठकमा अध्यक्षद्वय ओली र दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले पार्टीको अहिलेको संकटबारे धारणा राख्नुभएको थियो ।
यसअघि, कात्तिक २८ बसेको सचिवालय बैठकमा दाहालले आफ्नो तर्फबाट प्रस्ताव पेस गर्नुभएको थियो । १९ पृष्ठ लामो उक्त दस्तावेज प्रस्तुत गरेसँगै नेकपाको विवाद थप चुलिएको हो ।
दाहालको पत्रलाई प्रधानमन्त्री ओलीले आरोपपत्रको संज्ञा दिनुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपत्रलाई अस्वीकार गर्नेसमेत यसअघि नै बताइसक्नुभएको छ ।
प्रस्ताव फिर्ता लिन पटक–पटक ओली पक्षले आग्रह गरेपनि दाहालले अस्वीकार गर्नुभएको थियो ।
यसअघि बसेको सचिवालय बैठकले यही मंसिर १८ गते स्थायी कमिटी बैठक बस्ने मिति तय गरिसकेको छ । त्यस्तै, मंसिर २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्