
काठमाडौं, मंसिर १३ । काठमाडौं महानगरपालिकाले गत कात्तिकमा सार्वजनिक र भिडभाड हुने स्थानमा खाना खुवाउँदा असुरक्षित हुने भन्दै श्रमिक, असहाय, अतिविपन्न वर्गलाई पार्टी प्यालेसमा खुवाए त्यसको खर्च व्यवस्थापनमा सहयोग गर्ने बताएपनि महानगरले थापाथलिस्थित प्रसूतिगृहपछाडिको चौरको पहिचान गरी व्यवस्थापन गरेको छ ।
खाना खुवाउन पार्टी प्यालेसहरुले असमर्थता देखाएपछि अन्ततः विभिन्न संघ–संस्था र व्यक्तिहरुले महानगरकै सहमतिमा असुरक्षित भएपनि चौरमै खाना खुवाउन थालेका हुन् ।
गत कात्तिक १९ गते काठमाडौं महानगरपालिकाले खुलामञ्चमा सबैले देख्नेगरी असहाय, विपन्न वर्गलाई खाना खुवाउन आवश्यक नरहेको भन्दै विभिन्न संघ–संस्था र व्यक्तिलाई पार्टी प्यालेसमा खाना खुवाए त्यसको खर्च व्यवस्थापन महानगरले गर्ने प्रतिबद्धता जनाएको थियो ।
समस्यामा परेका श्रमिक, असहाय र अतिविपन्न वर्गलाई पार्टी प्यालेसहरुमा खाना खुवाउँदा सुरक्षित हुने महानगरको बुझाइ भएपनि पार्टी प्यालेसहरुले सेवा दिन असमर्थता देखाउँदा विभिन्न संघ–संस्था र व्यक्तिहरुले महानगरसँगको सहमतिमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालपछाडिको चौरमा खाना खुवाउन थालेका हुन् ।
महानगरले चौरमा अस्थायीरुपमा दुईओटा पानीका ट्यांकी र एउटा शौचालयको व्यवस्थापन गरेको छ ।
खुलामञ्चमा भिडभाड तथा सवारी–साधनका कारण धुलो–धुवाँले समस्या निम्त्याएतापनि अहिले व्यवस्थापन गरिएको सो स्थानसमेत असुरक्षित भएको टिम नेपालको बुझाइ छ ।
महानगरपालिकाले महामारी, विपत्तिजस्ता अप्ठ्यारा समयमा रोजगारी गुमाएकाहरुको खाना तथा सुरक्षित आवासको व्यवस्थापनका लागि केही भवनहरु बनाउन नसक्नुले पनि असुरक्षित भएपनि भवनको अभावमा चौरमा खाना खुवाउन बाध्य बनेको टिम नेपालका अध्यक्ष विमल पन्तको भनाइ छ ।
यस स्थानमा हाम्रो टिमले बिहानी तथा हन्ड्रेड ग्रुपले साँझ खाना खुवाउने कामलाई निरन्तरता दिँदै आएको छ ।
तर, सबैले देख्ने स्थानमा खाना खुवाउँदा दैनिकी ५०० बढीले भोजन गर्दै आएपनि नयाँ ठाउँमा भने यो संख्या घटेको टिम नेपालको भनाइ छ ।
त्यसो त कोभिडका कारण बेरोजगार भएकालाई रोजगारी तथा खान नपाएका महानगरबासीलाई भोकै बस्न नपर्ने गरी सहयोग गर्ने बताउँदै आएको छ ।
तर, दैनिकी खाना खान पुगेकाहरु भने रोजगारी गुम्दा सडकपेटीमा बास र मागेर खानुबाहेक विकल्प नभएको बताउँछन् ।
‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने राष्ट्रिय आकांक्षाअनुरुप सडकआश्रित बेसहारा मानवमुक्त सहर बनाउने महाअभियान चलाउँदै आएको महानगरपालिकाले थुप्रैलाई आश्रय दिएको दाबी गरेपनि एक छाक खानाकै लागि कयौं मानिसहरु भौंतारिनुपर्ने अवस्था ज्यूँका त्यूँ छ ।
त्यसमाथि पनि सार्वजनिक स्थानमा खाना खुवाउँदा अशोभनीय ठान्ने महानगरले निःशुल्क खाना खुवाउनेलाई कुनै एउटा व्यवस्थित स्थानको भने व्यवस्था गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्