
सर्लाही, मंसिर १३ । अलपत्र अवस्थामा रहेको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको निर्माणकार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने राजनीतिक दल एवं स्थानीयले चेतावनी दिएका छन् ।
शनिबार सदरमुकम मलंगवामा बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले यही मंसिर २१ गतेसम्म सडक निर्माणको काम अघि नबढे आन्दोलमा उत्रने निर्णय गरेको हो ।
बैठकले अहिलेका ठेकेदारमार्फत् सडक निर्माणको काम पूरा हुन नसक्ने भन्दै नयाँ ठेकेदारमार्फत् काम अघि बढाउन पनि माग गरेको छ ।
मलंगवादेखि पूर्वतर्फ संग्रामपुरसम्म, मलंगवादेखि पश्चिम रोहुवासम्म र त्यहाँदेखि बलरासम्म तीन खन्डमा गरी सडकको ठेक्का लागेपनि ठेकेदारले केही समयअघि माटो भर्नेलगायत काम गरेपनि अन्य काम अघि बढेको छैन् ।
माटो भरेको ठाउँमा पनि अहिले ठूल्ठूला खाल्टाखुल्टी परेर बुङ्बुङती धुलो उड्ने गरेको छ ।
हुलाकी सडकछेउछाउको बसाइ र यात्रा अत्यन्त कष्टकर गरेको स्थानीय बासिन्दाले बताएका छन् । सडकको बिजोग देखेरै सरोकारवालाहरु सडक बनाउने कार्यमा तातेका हुन् ।
छलफलमा नेपाल–भारत सीमानाका खुलाउन निरन्तर पहल र संघर्ष गरिरहने निर्णयसमेत भएको मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्