
काठमाडौं । चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे नेपालको एक दिने औपचारिक भ्रमणमा आज नेपाल आउनुहुने भएको छ ।
नेपाल चीनको ६५ औं कुटनीतिक सम्बन्ध वर्षगाठको अबसर पारेर चीनका स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेइ नेपाल आउन लाग्नुभएको हो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको एक वर्ष पछि चीनबाट उच्चस्तरिय भ्रमण हुन लागेको हो ।
पछिल्लो पटक भारतबाट उच्च सुरक्षा अधिकारीहरुको भ्रमण भएलगत्तै चीनबाट पनि रक्षामन्त्री नेपाल आउन लाग्नुभएको हो ।
कोरोनाको विश्वव्यापी महामारीपछि नेपाल आउन लाग्नुभएका जनरल वेइ सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुनुहुन्छ ।
उहाँ नेपाल भएर बंगलादेश र पाकिस्तानको भ्रमणमा जाने कार्यक्रम रहेको बताइएको छ ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने बताइएको छ ।
उपप्रधानमन्त्री एवं निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलले २०७५ कात्तिकमा चीनको औपचारिक भ्रमणका क्रममा रक्षामन्त्री वेइसँग द्धिपक्षीय वार्ता गर्नुभएको थियो ।
पछिल्लो पटक तत्कालीन रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल चाङ वाङ्क्वानले २०७३ चैत १० देखि १२ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्