
तेह्रथुम, मंसिर १६ । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रहेको हलहले पटेकडाँडामा भौतिक पूर्वाधार निमार्णसँगै पर्यटकको घुइँचो लाग्न थालेको छ ।
केही वर्षअघिसम्म गुमनाम रहेको यो डाँडाको सुधारसँगै पर्यटकहरुको आकर्षण बढ्न थालेको हो ।
कोसी राजमार्गस्थित धनकुटाको सिधुवा बजारनजिकै रहेको यो डाडाँमा पुग्न पर्यटकहरुलाई अहिले सहज भएको छ । त्यसैलेपनि यो ठाउँमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।
१० मिनेटको गाडी र झन्डै आधा घन्टाको पैदलयात्रापछि यस स्थानमा पुग्न सकिन्छ ।
लामो कोरोना कहरसँगै घरमा बसेकाहरु अहिले थोरै भएपनि रमणीय दृष्य हेर्न यो डाँडामा पुग्ने गरेको स्थानीय प्रकाश तामाङको भनााइ छ ।
समुद्री सतहदेखि २७ सय मिटरमा रहेको पटेकडाँडा खासगरी झुल्केनी घाम र अस्ताउँदै गरेको सूर्यलाई हेर्न पर्यटकहरुको मुख्य आकर्षण बन्न थालेको छ ।
पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेकोले यस स्थानमा भौतिक पूर्वाधार निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने स्थानीय होमबहादुर बिष्टको भनाइ छ ।
डाँडामा पुग्नका लागि सिंडी तथा रेलिङ बनाइएको छ । संघीय सरकार र प्रदेश सरकारको एक करोड ३४ लाख रुपैयाँको लगानीमा भौतिक पूर्वधारका कामहरु भएकाले यहाँ पुग्ने जो–कोहीलाई अहिले सहज भएको छ ।
हलहले पटेकडाँडा निर्माण समितिका अध्यक्ष गोमा कार्कीले स्थानीय सरकारले यस पर्यटकीय स्थानको संंरक्षण गर्न ध्यान दिनुपर्ने बताउनुहन्छ ।
तेह्रथुम र धनकुटा जिल्लाको संंगमस्थल राजमार्गनजिकै रहेकाले पनि एकैछिन भएपनि यो डाडाँमा पुग्न पर्यटकहरु लालायीत हुने गरेका छन् ।
त्यसैलेपनि यस ठाउँको विकासको लागि स्थानीयले देखाएको उत्साहलाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्