१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेकपा सचिवालय बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि थालियो छलफल


0
Shares

kp oli prachanda

काठमाडौं, मंसिर १६ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दुवै प्रस्तावमाथि औपचारिक छलफल सुरू गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले विवाद समाधानका लागि औपचारिक र अनौपचारिक दुवैखाले छलफललाई निरन्तरता दिने भन्दै कुनैपनि हालतमा पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

मंगलबारको बैठकमा ओली र दाहालले आफ्नो धारणा राख्नुभएको थियो ।

पार्टी अध्यक्ष दाहालले गएको कात्तिक २८ गते र प्रधानमन्त्री ओलीले यही मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा प्रस्तुत गर्नुभएको थियो ।

अध्यक्षद्वयका छुट्टाछुट्टै प्रस्तावमा छलफल गरेर एकीकृत प्रस्ताव ल्याउने सम्बन्धमा सचिवालय बैठकले नै निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभएको हो ।

पौडेललाई शुभकामना
पार्टी महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा केक काटेर प्रारम्भ गरिएको मंगलबारको बैठकमा ६२ वर्षमा प्रवेश गरेका पौडेललाई नेताहरुले केक खुवाएर शुभकामना दिएका थिए ।

सचिवालयको अर्को बैठक बुधबार (भोलि) दिउँसो १ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।