
बर्लिन, मंसिर १६ । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्नेगरी युनियनको कार्यालयमा विधिवत् दर्ता गरेको छ ।
यदि, युनियनले स्वीकृत गरेमा युरोपेली मुलुकमा यसै वर्षको अन्त्यअघि नै खोप उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
दुवै कम्पनीका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा सोमबार युरोपेली मेडिसिन एजेन्सी (ईएमए)मा औपचारिक निवेदन दिइएको उल्लेख छ ।
गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए ।
कम्पनीले अमेरिकामा पनि खोप वितरण गर्नेगरी अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)समक्ष निवेदन दिइरहेको छ ।
युरोपेली नियामक निकायले फाइजरले पेस गरेको विवरणको मूल्यांकन गरी खोप लगाउन उपयुक्त रहे/नरहेको विश्लेषण गरी स्वीकृति दिइने जनाएको छ ।
फाइजर र बायोएनटेकले अस्ट्रेलिया, क्यानाडा र जापानसमेतका मुलुकहरुका नियामक निकायमा पनि आवेदन दिइने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्