
प्यूठान, मंसिर १७ । प्यूठानको माण्डवी गाउँपालिकाले पहिलोपटक निःशुल्क स्कुल बस सेवा सुरु गरेको छ ।
दैनिक छ घन्टा पैदलयात्रा गर्नुपर्ने भएपछि पालिकाले विद्यार्थीहरुका लागि बस सेवा सञ्चालन गरेको हो ।
बस सञ्चालनमा आएपछि दैनिक छ घन्टा पैदलयात्रा हिँड्नुपर्ने बाध्यता हटेको छ ।
माण्डवी गाउँपालिका सिमलचौरकी निर्मला थापामगरलाई बिहानै ७ बजे विद्यालय हिँड्नुपर्ने बाध्यता थियो । ७ बजे विद्यालय हिँड्नुपर्ने हुँदा कुनै दिन खाना खानेसमेत फुर्सद हुँदैन्थ्यो, उनलाई । कुनै दिन अबेर गर्दा कक्षा छुट्ने समस्या दोहोरिरहन्थ्यो ।
उनीमात्र होइन, उनीजस्ता माण्डवी गाउँपालिकाका सयौं विद्यार्थीहरुको अवस्था यस्तै थियो ।
तर, माण्डवी गाउँपालिका र माण्डवी माविले स्कुल बस सञ्चालन गरेपछि दैनिक २२ किलोमिटर पैदलयात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।
गाउँपालिकाले माण्डवी माध्यमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुका लागि सरुमारानी गाउँपालिकाका र माण्डवी गाउँपालिकाको सीमा क्षेत्र बागेखोला र लामाचौदेखि नयाँगाउँसम्म निःशुल्क स्कुल बस सञ्चालन गरेको हो ।
यस विद्यालयमा झन्डै ९५० जना विद्यार्थीहरु अध्ययनरत् रहेका छन् ।
सिमलचौर, अरङखोला, कुमलटार, कालिखोला, बागेखोला, एकचोटे, सल्लीबेसीका झन्डै १०० भन्दा बढी विद्यार्थीहरु दैनिक ११ किलोमिटर लामो बाटो हिँडेर विद्यालय आउने गरेका थिए ।
विद्यार्थी पैदल हिँड्दा असुरक्षित र थकान महसुस गर्ने हुँदा पठनपाठनमा ध्यान नदिने गरेका थिए । उनीहरुको अवस्थालाई मध्यनजर गर्दै बस सञ्चालन गरिएको हो ।
गाउँमै बसको व्यवस्था भएसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति बढ्नुका साथै शैक्षिक गुणस्तरमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
विद्यार्थीहरुको सहजरुपमा पठनपाठन गर्न पाउनुपर्ने अधिकार भएपनि घरनजिकै विद्यालय नहुँदा उनीहरु कष्टपूर्ण यात्रा गरेर अध्ययन गर्न बाध्य हुने गरेका थिए ।
पालिकाको केन्द्रमा रहेको विद्यालयमा पठनपाठनमैत्री वातावरण सिर्जना गर्न गाउँपालिकाले विद्यालयसँग सहकार्य गरेर स्कुल बसको व्यवस्था गरेको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका बताउनुहुन्छ ।
घन्टौं लगाएर विद्यालय जानुपर्ने बाध्यतामा रहेका विद्यार्थीहरुलाई मध्यनजर गरेर पालिका र विद्यालयले गरेको प्रयास सराहनीय छ । जसबाट विद्यार्थीहरुलाई दैनिक छ घन्टा हिँड्नुपर्ने बाध्यता हटेको छ भने विद्यालयमा विद्यार्थीको उपस्थिति तथा सिकाइ उपलब्धिमा पनि बढोत्तरी हुनेछ ।
प्रतिक्रिया दिनुहोस्