
काभ्रे, मंसिर १७ । काभ्रेपलाञ्चोकको बेथानञ्चोक गाउँपालिका–१, च्यामलमा अवस्थित तीनतले झरना र इन्द्रेणी झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
यी दुई झरनामा दैनिकरुपमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो ।
काठमाडौंदेखि ५५ किलोमिटर, बनेपाबाट ३१ किलोमिटर र पनौतीदेखि करिब २६ किलोमिटरको दूरीमा यी झरना रहेका छन् ।
यसअघि, त्यति धेरै चर्चामा नआएका दुई झरनाको प्रचार–प्रसारमा स्थानीय युवाहरु नै लागेपछि अहिले तीनतले र इन्द्रेणी झरनाको चर्चा चुलिएको हो ।
पर्यटकीय पूर्वाधार निर्माणको सुरूआतसँगै यी दुई झरना छोटो समयमा नै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेका छन् ।
अहिले तीनतले झरनाको सुधारका लागि वडा कार्यालयले दुई लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ ।
विदेशी पर्यटकका लागिसमेत मुख्य गन्तव्य बन्नसक्ने यी दुई झरनामा विदेशी पर्यटक भित्र्याउनका लागि पर्यटन व्यवसायीसमेत लागिपरेका छन् ।
अहिले गाउँपालिकाका सबै स्थानमा सडकमार्गको सहज पहुँच भएकाले पनि यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो ।
यी झरनासम्म पैदलयात्रा गर्दै पुग्दाको छुट्टै आनन्द छ । आफ्नै सवारी–साधन मोटरसाइकल वा गाडीमा जान चाहेपनि सहजै पुग्न सकिन्छ ।
सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ ।
अहिले शनिबार र बिदाको दिनमा समूह–समूहमा पर्यटक यी दुई झरनामा पुग्ने गरेका छन् ।
स्थानीय तहले यी झरना घुम्न आउने पर्यटकका लागि चर्पीलगायतका संरचनाको व्यवस्था गर्नुपर्ने तत्कालको आवश्यकता देखिएको छ ।
राजधानीबाट नजिकै पर्ने यस स्थान छोटो दूरीको यात्रा र घुमफिरको लागि पनि गन्तव्य बन्नसक्छ ।
प्रतिक्रिया दिनुहोस्