
काठमाडौं, मंसिर १७ । विश्वव्यापी महामारीका कारण ठप्प भएको नेपालको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ ।
सरकारले केही सुरक्षा मापदण्डसहित पर्यटक भित्र्याउन अनुमति दिएपछि पर्यटकको आगमन सुरु भएको हो ।
७० वर्षीया रसियन कलाकार लिलिया स्लेभिन्सकाया । जो कोरोनाको महामारीका बीच पनि नेपाल घुम्न आउनुभएको छ । यो उमेरमा पनि ‘एभरेस्ट ट्रेकिङ’ गर्दै यहाँको प्राकृतिक छटाको चित्र कोर्ने उहाँको चाहना छ ।
यस्तै, रसियन पर्यटकको टोली लिएर नेपाल आउनुभएकी ‘टूर लिडर’ ऐलिना गोरस्कोभा पनि नेपालको प्राकृतिक, साँस्कृतिक छटाले सधैं आत्मादेखि नै आकर्षण गरिरहेको बताउनुहुन्छ ।
आठपटक नेपाल आइसक्नुभएकी कलाकार स्लेभिन्सकाया शान्तिको प्रतीक सेतो, नीलो र सुनौलो रङ सृजनाको प्रेरणा भएको र आफू नेपालको सौन्दर्यले प्रेरित हुने गरेको भन्दै पछि यहाँ सृजना गरेका आफ्ना चित्रकलाको प्रदर्शनसमेत गर्ने बताउनुहुन्छ ।
कोरोनाको महामारीका बीच पर्यटक भित्रिएपनि केही अव्यावहारिक प्रावधानले भने अप्ठ्यारो पारेको पर्यटन व्यवसायीहरुको गुनासो रहेको छ ।
नेपाल आउँदा ७२ घन्टाको ‘पीसीआर नेगेटिभ’को रिपोर्ट ल्याएता पनि सात दिनको ‘क्वारेन्टिन’मा बस्नुपर्ने व्यवस्था व्यावहारिक नभएको उनीहरुको भनाइ छ ।
१०–१२ दिन बिदा लिएर नेपाल घुम्न आउने पयटकलाई सात दिन क्वारेन्टिनमा राख्दा पर्यटक केका लागि कसरी आउने ? उनीहरुको प्रश्न छ ।
टुरिष्ट गाइड सुदर्शन अमात्य यस्तो महामारीमा पर्यटक भित्र्याउने हो भने सरकारले सहजीकरण गर्नुपर्ने एवं भिसा प्रक्रिया सहज बनाउनुपर्ने बताउनुहुन्छ ।
टुर लिडर ऐलिना पर्यटन व्यवसाय नेपालका लागि महत्वपूर्ण भएको भन्दै आफूहरु यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न तयार रहेको बताउनुहुन्छ ।
पक्कै पनि यस्तो महामारीको बीच पनि नेपालै आउन चाहने पर्यटकलाई सरकारले प्रक्रिया सजिलो पार्ने र अव्यावहारिक नियमलाई परिमार्जन गर्दा पर्यटन क्षेत्रले सकारात्मक गति लिने देखिन्छ ।
भिडियोः सुन्दर गुरुङ ।
प्रतिक्रिया दिनुहोस्