
काठमाडौं, मंसिर १७ । कोरोना महामारीपछि सुरु भएको वैकल्पिक शिक्षा प्रणालीमा करिब ३६ प्रतिशत बालबालिकाको मात्र पहुँच पुगेको तथ्य सार्वजनिक भएको छ ।
तर, शिक्षा मन्त्रालयले भने विद्यालय सञ्चालनसम्वन्धी कार्यढाँचाअनुसारको सिकाइ उपलब्धि हासिल हुने जनाएको छ ।
वैकल्पिक प्रणालीबाट शैक्षिकसत्र सुरु गरेपनि करिब ३६ प्रतिशत बालबालिका मात्र सिकाइको पहुँचमा पुगेको तथ्य सार्वजनिक भएको छ । अब भौतिकरुपमा कक्षा सञ्चालन भएपछि वैकल्पिक सिकाइ पूरक हुनेछ ।
‘शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले गरेको ‘नेपालका सार्वजनिक विद्यालयमा कोभिड–१९ को असर’ विषयक अध्ययनमा वैकल्पिक सिकाइ प्रभावकारी नभएको देखाएको हो ।
उपलब्ध सेवा–सुविधाको आधारमा विद्यार्थीलाई पाँच समूहमा वर्गीकरण गरेर सबैमा सिकाइको परिकल्पना गरेको शिक्षा मन्त्रालयको निर्देशिका सबै ठाउँमा लागू हुन सकेको छैन ।
सात प्रदेशका सात जिल्लामा करिब ७७० जनासँग अनलाइन तथा टेलिफोनबाट अध्ययन सर्वेक्षण गरिएको थियो ।
सर्वेक्षणमा सहभागी अभिभावकले शिक्षा पर्याप्त नभएको, शिक्षकहरु प्रविधिमैत्री शिक्षणका लागि अभ्यस्त नभएको बताएका छन् ।
शिक्षकहरु घर–दैलोमा पुगेर विद्यार्थीलाई गृहकार्य दिएका ठाउँमा भने ४४ प्रतिशत विद्यार्थीले गृहकार्य पूरा गरेको, करिब ७५ देखि शतप्रतिशतसम्म विद्यार्थीसँग पाठ्यपुस्तकको पहुँच भएपनि अन्य शैक्षिक सामग्री नपुगेको देखिएको छ ।
सिकाइ निरन्तरताका लागि केन्द्र, प्रदेश र स्थानीय तहको भूमिका र समन्वय कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ ।
६० देखि ९१ प्रतिशतसम्म बालबालिकामा वैकल्पिक माध्यमका रेडियो, टेलिभिजन, मोबाइल र कम्प्युटर इन्टरनेटजस्ता साधनमा पहुँचको अभाव भएको अध्ययन प्रतिवेदनले देखाएको छ ।
वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ प्रभावकारी नभएको अध्ययनको निष्कर्ष छ ।
अध्ययनलाई राष्ट्रव्यापीरुपमा मान्न नसकिएपनि त्यसलाई दृष्टान्तको रुपमा लिन सकिने र विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचाअनुसार पढाइ अघि बढ्ने र हुनुपर्ने सिकाइ उपलब्धि हासिल हुने मन्त्रालयले जनाएको छ ।
शैक्षिकसत्र खेर जान नदिने र निरन्तर सिकाइबाट कसैलाई वञ्चित हुन नदिने शिक्षा मन्त्रालयले जनाएको छ ।
करिब २८ हजार सार्वजनिक विद्यालयमा ५० लाख हाराहारीमा विद्यार्थीहरु अध्ययनरत् छन् ।
प्रतिक्रिया दिनुहोस्