२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भारतको रोमाञ्चक जित, कोहलीको कीर्तिमान


0
Shares

काठमाडौं, मंसिर १७ । अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ ।

बुधबार कानबेरा क्रिकेट मैदानमा भएको खेलमा भारत १३ रनले विजयी भएको हो ।

३०३ रनको विजयी चुनौती पछ्याएको अष्ट्रेलियाले तीन बल खेल्न बाँकी छँदा ‘अलआउट’ हुँदै २८९ रन बनाएपछि भारतले रोमाञ्चक जित निकालेको हो ।

कुनै समय जितनजिक पुगेको अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ७५ तथा ग्लेन म्याक्सवेलले ५९ रन बनाए ।

भारतका लागि शार्दुल ठाकुरले ३ तथा जसप्रित बुमराह र टी नटराजनले समान २/२ विकेट लिए ।

यसअघि, खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित् ५० ओभरमा ५ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो ।

हार्दिक पाण्डेय र रवीन्द्र जडेजाले छैटौं विकेटका लागि अविजित रहँदै १५० रन बनाएपछि भारतले उच्च योगफल बनाएको हो । पाण्डेयाले ७६ बलमा ९२ तथा जडेजाले ५० बलमा ६६ रन बनाए ।

कीर्तिमान
खेलमा ६३ रन बनाएका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा सर्वाधिक कम २४२ इनिङ्समा १२ हजार रन पूरा गर्ने खेलाडीको कीर्तिमान बनाए ।

‘लिटिल मास्टर’ सचिन तेन्दुलकरले ३०० इनिङ्समा १२ हजार रन पूरा गरी बनाएको कीर्तिमान कोहलीले तोडेका हुन् ।

सान्त्वना जित
योसँगै भारतले सान्त्वना जित हासिल गरेको छ । यसअघिका दुवै खेल जितेको अष्ट्रेलियाले शृंखलामाथि २–१ ले कब्जा जमाएको छ ।

अष्ट्रेलिया भ्रमणमा रहेको भारतले आउँदो शुक्रबारदेखि तीन खेलको ट्वेन्टी–२० शृंखला खेल्नेछ ।