
दमौली, मंसिर १७ । निषेधाज्ञा तोडेको आरोपमा बुधबार दिउँसो प्रहरी कार्यालयमा राखिनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीन घन्टापछि छाडिनुभएको छ ।
तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जानेक्रममा निषेधाज्ञा तोडेको आरोपमा दिउँसो २ बजे सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिनुभएका वरिष्ठ नेता पौडेल साढे ५ बजे मुक्त हुनुभएको हो ।
प्रहरीले वरिष्ठ नेता पौडेल, कांग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो ।
त्यसपछि कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जानेक्रममा नियन्त्रणमा लिइएकामा आपत्ति जनाउनुभयो ।
‘तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ’–उहाँले भन्नुभयो–‘उक्त घटनाको जति विरोध गरेपनि कम हुन्छ ।’
प्रहरी शक्तिको दुरुपयोग गरी कांग्रेसलाई निषेध गर्न खोजिएको भनी उहाँले आपत्ति जनाउनुभयो ।
थप कार्यक्रम सार्वजनिक गरिने
जिल्ला कांग्रेस तनहुँले बुधबार भएको घटनाको विरोध गर्दै बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ ।
कांग्रेस जिल्ला कार्यवाहक सभापति आलेले घटनाको निन्दा गर्दै आन्दोलन सुरु गरिने घोषणा गर्नुभयो ।
बुधबार दिउँसो प्रहरीसँग भएको झडपमा संविधानसभाका तत्कालीन सदस्य रामचन्द्र पौडेल, जिल्ला सचिव लक्ष्मी आचार्य, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल महिला संघका सभापति पवित्रा पौडेल र महासमिति सदस्य रामचन्द्र अधिकारी घाइते भएको कांग्रेसले जनाएको छ ।
पूर्वाधार विकास कार्यालयमार्फत् सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि कार्यालयले पत्र काटेर कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो ।
उपभोक्ता समितिले वरिष्ठ नेता पौडेललाई प्रमुख अतिथि बनाएपछि नेकपानिकट युवा संघले सोही पुलमा बुधबारै बिहान विरोधसभा आयोजना गरेको थियो ।
दुवै पक्षबीच झडप हुनसक्ने सम्भावनालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
वरिष्ठ नेता पौडेल कांग्रेस कार्यकर्तासहित पुल भएको स्थानमा जान खोजेपछि प्रहरीले रोकेको थियो । सोहीक्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो ।
प्रतिक्रिया दिनुहोस्