
झापा, मंसिर १८ । झापामा पछिल्लो समय टोल–टोलका सडकमा कालोपत्रे हुन थालेको छ । वर्षौंदेखि अलपत्र परेका सडकहरु कालोपत्रे हुँदा स्थानीय दंग परेका छन् ।
स्थानीय पूर्वाधार तथा कृषि सडक विभागअन्तर्गतको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले देशभरका १६ जिल्लामा एकैसाथ (पीबीएम) पद्धतिबाट सडकको कालोपत्रेको काम सुरु गरेसँगै झापाका टोल–टोलका सडक पनि कालोपत्रे हुन थालेका छन् ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत झापामा चारओटा सडकको एकैचोटी यसरी सडक स्तरोन्नति गरिएपछि सर्वसाधारण खुसी भएका छन् ।
लामो समयदेखि अलपत्र अवस्थाका सडक यसरी धमाधम कालोपत्रे हुन थालेपछि स्थानीयलेसमेत सहयोग गर्न थालेका छन् ।
चारपाने–राजगढ सडकखन्डमा भइरहेको कामको मूल्यांकन अनुगमनमा पुग्नुभएका संघीय सांसद राजेन्द्रकुमार लिङ्देनले झापाका प्रत्येक टोल–टोलमा सडक पुर्याउने बताउनुभयो ।
एसियाली विकास बैंकको १९ करोड ५४ लाख रुपैयाँको लागतमा चारपाने–राजगढ सडकखन्ड धमाधम कालोपत्रे भइरहेको छ । सडक कालोपत्रेका लागि बिर्तामोडस्थित कञ्चन निर्माण सेवाले काम गरिरहेको छ ।
सडकको १५.४८ किलोमिटर लम्बाइ रहेको छ भने चौडाइ साढे पाँच मिटर रहेको छ ।
सडकको स्तरोन्नति भएसँगै ग्रामीण क्षेत्रका नागरिकको जीवनस्तरमा परिवर्तन आउने र कृषि उत्पादनलाई बजारसम्म लान सहज हुने बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताउनुभयो ।
पीबीएम पद्धतिबाट बनाएको सडक तीन वर्षसम्म बिग्रिए वा भत्केमा बनाउने जिम्मेवारी निर्माण व्यवसायीकै हुन्छ ।
यही पद्धतिबाट चारपाने–राजगढ सडकसँगै अमलडाँगी–सोलमारी सडकखन्ड, पाडाजुँगी–खजुरगाछी सडकखन्ड र खर्सङबारी–अधिकारी चोक सडकखन्ड पनि धमाधम निर्माण भइरहेका छन् ।
नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)सँगको साझेदारीमा निर्माण भइरहेका चारओटा सडकको लम्बाइ ४३.५ किलोमिटर रहेको छ ।
चारओटै सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअगाडि शिलान्यास गरेपनि काम द्रुत गतिमा हुन सकेको थिएन ।
ग्रामीण क्षेत्रका सडकको स्तरोन्नति हुन थालेसँगै झापाका ग्रामीण क्षेत्रका सर्वसाधारण खुसी देखिएका छन् ।
झापामा निर्माणाधीन चार सडकमा नयाँ प्रविधिबाट कालोपत्रे गरिएसँगै सडक भत्कने, बिग्रने र खाल्टाखुल्टी पर्ने समस्या अन्त्य हुने विश्वास गरिएको छ ।
त्यसैलेपनि झापाका प्रत्येक सडक पछिल्लो समय यसै प्रवितधिमार्फत् धमाधम निर्माण भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्