१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रेलवे लिकको क्लिप चोरिएको चोरियै, रेल सञ्चालनमै अन्योल


0
Shares

जनकपुरधाम, मंसिर १८ । रेल सञ्चालन नहुँदै जनकपुरधामस्थित रेलवे लिकको क्लिपलगायतका सामग्रीहरु चोरी हुन थालेको छ ।

गएको असोज २ गते विधिवतरुपमा परीक्षण गरिएको रेल गुड्ने रेलवे लिकको क्लिपलगायतका सामग्री चोरी हुन थालेपछि अब रेल सञ्चालनमा नै अन्योल बढेको छ ।

मर्मत–सम्भारमा समय लाग्न सक्ने भएका हुनाले रेल कहिलेदेखि सञ्चालन हुने भन्नेमा अन्योल बढेको बताइएको छ ।

आउँदो विवाह पञ्चमीबाट भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म सञ्चालन हुने भनिएको सो रेल अब उक्त समयमा चल्ने देखिँदैन ।

रेल सञ्चालनका लागि भारतबाट दुई अत्याधुनिक इन्जिनसहितको सेट ल्याइसकिएको छ । तर, पूर्वाधारसम्बन्धी काम सम्पन्न हुन नसक्दा अहिले सो रेल सीमावर्ती क्षेत्र इनर्वामा थन्क्याएर राखिएको छ ।

जनकपुरस्थित रेल विभागका साइट इञ्चार्ज विनोदकुमार ओझाले रेलवे ट्रयाकको १७ हजारथान क्लिप मानिसहरूले उखेलेर लगेको र रेलवे स्टेसनदेखि लेभल क्रसिङ, सिग्नल घरसमेतका सामनहरू चोरी हुने तथा निर्मित सामानहरू स्थानीयले फुटाउने गरेको बताउनुभयो ।

दुईपटक केही बालबालिकालाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको तर बालबालिका भएका कारण कुनै सजाय नै नगरी सम्झाइ–बुझाइ उनीहरूका अभिभावकलाई प्रहरीले जिम्मा लगाएको उहाँले बताउनुभयो ।

रेलवेको सुरक्षाका लागि इनर्वामा सशस्त्र प्रहरी बलले चौबीसै घन्टा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।

तर, रेलवे लिक र अन्य पूर्वाधारको संरक्षण गर्न नसकेकोमा सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।

रेलवे लिकको सामानहरु चोरी भएको कुरा स्वीकार्दै प्रमुख जिल्ला अधिकारीले अहिले सुरक्षा व्यवस्था कडा पारिएकाले अब कुनै प्रकारको क्षति नहुने दाबी गर्नुभयो ।

यसैबीच, रेलवे सञ्चालनका लागि दक्ष जनशक्ति भारतबाट मगाउने र केही कर्मचारीका लागि विज्ञापनसमेत भइसकेको छ ।