
काठमाडौं, मंसिर २० । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी जनक भट्टराईले ट्राफिक व्यवस्थापनलाई ‘डिजिटलाइज’ गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
हालैमात्र ट्राफिक महाशाखामा सरुवा हुनुभएका उहाँले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।
कुनैपनि सवारीचालक ट्राफिक कारबाहीमा परी जरिवाना तिर्नुपर्ने भएमा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रणालीको विकास भइरहेको पनि उहाँले बताउनुभयो ।
यसबाट बैंकमा लामो लाइन लाग्नुपर्ने स्थितिको अन्त्य हुने एसएसपी भट्टराईले बताउनुभयो ।
महाशाखाका प्रमुख भट्टराइले कारबाहीमा परेका व्यक्तिहरुलाई दिइने सचेतना कक्षा कोभिड–१९ का कारण स्थगित भएकोमा अहिले अनलाइनबाटै लिने व्यवस्था मिलाइएको पनि बताउनुभयो ।
उहाँले अहिले ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतनाकक्षा अनलाइनबाट लिएपछिमात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्