१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


११ महिने ‘पुष्पा’लाई जंगलमा छोडिँदै (भिडियो)


0
Shares

चितवन, मंसिर २० । एकसिंगे गैंडा संरक्षणमा चुनौती थपिइरहँदा चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषले पुष्पा नाम गरेकी गैंडाको बच्चालाई उद्धार गरी हुर्काउन थालेको छ ।

अलपत्र अवस्थामा फेलापरेको उक्त गैंडाको बच्चा अहिले घाँस खानसक्ने भएको छ र जंगलमा छोडिँदै छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष परिसर । जहाँ ११ महिने गैंडाको कलिलो बच्चा पुष्पा हुर्किरहेकी छे ।

निकुञ्ज र मध्यवर्ती जंगलमा खेल्नु र चर्नुपर्ने बेलामा पुष्पाले भने यही प्रकृति संरक्षण कोषमा रमाउनुपरेको छ ।

पुष्पा चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा एक वर्षअगाडि भेटिएकी थिई ।

माउले छोडेर अलपत्र परेको अवस्थामा प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाले उद्धार गर्‍यो । तर, गैंडाको यति कलिलो बच्चालाई कसरी हुर्काउने भन्ने कसैलाई अनुभव थिएन ।

पुसमा जन्मिएकाले पुष्पा नाम राखिएको अहिले ११ महिनाकी भई । यसलाई लालबहादुर महतराले सानैदेखि रेखदेख गर्दै र पाउडर दूध पिलाउँदै आए ।

आफ्नै परिवारजसरी पुष्पालाई हुर्काएको बताउने उनले उद्धार गरेका सबै जीवित हुन्छन् भन्ने ठेगान नहुने तर पुष्पालाई जसरी–तसरी हुर्काएकोमा भने उनी खुसी छन् ।

तर, एउटै समस्या छ उनलाई । आफ्ना लालाबालाझैं माया दिएर लालनपोषण गरेको आफ्नै सन्तानझैं की पुष्पालाई कसरी जंगलमा छाड्ने होला ? उसलाई अहिलेझैं फेरि भेटिने हो या हैन । उनलाई पुष्पाको माया गडिसकेको छ भने फेरि अर्कोतर्फ जंगलमै छाड्नुपर्ने बाध्यता पनि छ ।

जसोतसो अहिलेपनि महतराले नै जंगलमा चर्ने बानी गराइरहेका छन् । सधैं साथमा हुने पुष्पालाई जंगलमा छाड्नुपर्दा उनलाई दुःख लागेको छ ।

कोषका प्रमुख डा. बाबुराम लामिछानेले पुष्पासहित हालसम्म २५ ओटा टुहुरा गैंडाको बच्चा र गत आर्थिक वर्षमा मात्रै १४ ओटा चितुवालाई उद्धार तथा नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

नेपालका अन्य क्षेत्रमा पनि समस्यामा रहेका र समस्या दिने वन्यजन्तु नियन्त्रण गर्न एउटा तालिमप्राप्त, दक्ष र सुविधासहितको विज्ञ टोली नै छ ।

पुष्पालाई पनि भेटेरिनरी डाक्टर, वन्यजन्तु प्राविधिकसहितको सहयोगमा हुर्काइएको हो ।

हुर्किएको पुष्पालाई सुरुमै खुला जंगलमा नभइ अर्नाका लागि बनाइएको खुला खोरमा छोड्ने योजना रहेको छ ।

भिडियो हेर्नुहोस्