
डडेल्धुरा । सशस्त्र द्धन्दका बेला तत्कालीन विद्रोही र राज्य पक्षले धेरै निर्दोसहरुलाई बेपत्ता बनाउनुका साथै मानसिक तथा शारिरिक पिडा दियो ।
सरकार र माओवादी पक्षबीच शान्ती सम्झौता भएर तत्कालिन माओवादीपक्ष नै राज्य सञ्चालनमा आउँदा समेत द्धन्द पीडितहरुले अझै सम्म पनि न्याय पाउन सकेका छैनन् ।
ससस्त्र द्वन्दका बेला सुरक्षाकर्मीबाट कुटाई खाई मानसिक अवस्था गुमाएका अजयमेरु गाउँपालिका वडा नम्बर– २ डडेल्धुराका ४१ वर्षिय युवा रघुनाथ भट्ट ८ वर्षसम्म दाम्लोमा बाँधिनु पर्यो ।
दाम्लोमा बाँधिएका उनी ८ वर्ष पछि उपचारबाट सामान्य जीवनमा फर्के पनि ८ वर्ष पछि फेरि मानिस देख्ने बित्तिकै बर्बराउँछन र कुटन थाल्दछन ।
कुनै बेला रघुनाथ कसैसँग बोल्दैनन र उनलाई आफूलाई के भएको भन्ने सम्झना पनि छैन तर कुनै बेला भने द्वन्दको घाउ बल्झिएका समयमा घरपरिवारजनलाई कुटने र सताउने कामबाट परिवार त्रसित बन्दै गईरहेको छ ।
बृहत शान्ति सम्झौता सम्पन्न भएको पनि धेरै वर्ष बितिसक्यो तर, ससस्त्र द्वन्द पीडितले न्यायिक अनुभूति गर्न पाएको वा नपाएको खाउँखाउँ र लाउँलाउँको २५ वर्षे उमेरमा पशुतुल्य जीवनयापन गर्न बाध्य भएका एउटा उदाहरण बनेका छन रघुनाथ भट्ट ।
२०६१ सालमा सुरक्षाकर्मीको निर्घात कुटपिटबाट मानसिक सन्तुलन गुमाएका रघुनाथ भट्टको परिवार अहिले दयनिय अवस्थामा गुज्रिरहेको छ ।
दाम्लोमा बाँधिएका रघुनाथको डडेल्धुरा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, रेडक्रस र स्थानीयको पहलमा उपचार भए पनि आजसम्म उनको चेत फर्किन सकिरहेको छैन ।
दुई छोरी, बुवा र श्रीमतीले पालेका बाख्रा पाठाबाट उनको जीवन जेनतेन धानिरहेको छ । सामाजिक सुरक्षा भत्ता बाहेक कतैबाट केहि नभएको द्वन्दपीडित रघुनाथ की श्रीमति धनादेवी भट्टको भनाई छ ।
द्वन्दपीडितको नाममा उनको घरमा गएर मानव अधिकार संस्थाहरुले फोटो खिच्ने, लगत लिने काम धेरै भएको परिवारजनको भनाई छ ।
स्थानीय शान्ति समितिमा पनि उनको नाम द्वन्दपीडितको सूचिमा छ । तर, राज्य पक्षबाट भने रघुनाथले कुनै पनि राहत तथा आर्थिक सहयोग पाएका छैनन ।
ज्याला मजदुरी र पशुपालन गर्दै पाँच जनाको परिवार धान्न विवश रघुनाथका परिवारका लागि बितेका १६ वर्ष पीडादायी स्मृति मात्र रहेन, जनताको सरकार भनिएको बर्तमान समयमा पनि परिवर्तनको आभाष हुन नसक्दा द्वन्दपीडितको मन खिन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्