
कैलाली, मंसिर २२ । विगतका वर्षभन्दा यस वर्ष सरकारले धानको खरिद मूल्य तोकेसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा किसानको लाइन देखिन थालेको छ ।
कैलालीको धनगढी, मोहनपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा धान बिक्री गर्ने किसानको लाइन छ ।
धान बिक्री गर्न आएका कृषकलाई चार दिनसम्म खुला आकाशमुनि पालो कुर्नुपर्ने बाध्यता छ ।
यस वर्ष व्यापारी र सरकारले तोकेको मूल्यमा अन्तर धेरै भएपछि खाद्यमा कृषकको भिड लागेको हो ।
सरकारले मध्यम धानको मूल्य प्रतिक्विन्टल २८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २७ सय ३५ रुपैयाँ तोकेको छ । स्थानीय व्यापारीले भने बढीमा २२ सय रूपैयाँसम्ममा खरिद गरेका छन् ।
धनगढीको मोहनपुरमा रहेको खाद्य डिपोमा धान बेच्न आएका किसानहरु चार–पाँच दिनसम्म त्रिपालमुनि सुतेर धान बिक्री गरिरहेका छन् ।
गोदाम परिसरमा गोरुगाडादेखि ट्याक्टरमा धान लोड गरेर किसान लाइनमा छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका–८ का किसान राजु चौधरी चार दिनअघि धान बिक्री गर्न कम्पनीको गोदाममा पुग्नुभएको छ । निजी व्यापारी र कम्पनीको मूल्यमा अन्तर भएपछि उहाँ पहिलोपटक त्यहाँ पग्नुभएको हो ।
यस्तै, बेलौरी–६ कै हरिद्वारी राना पनि आएको चार दिन भएको छ । उहाँको पनि पालो आएको छैन । ट्याक्टरमा लोड गरेर धान ल्याउनुभएका उहाँले पनि गोदाम परिसरमै खाना पकाउने र ट्याक्टरमा सुत्ने गर्नुभएको छ ।
कञ्चनपुरकै छविलाल रानापनि तीन दिनदेखि धान बेच्न लाइनमा बस्नुभएको छ । उहाँले दिनभरि गोरुगाडासहित लाइनमा बस्नुपर्ने हुँदा आफू के खाने र गोरुलाई के खुवाउने भन्ने चिन्ता लाग्ने गरेको बताउनुभयो ।
खाद्यले समयमै धान खरिद नगर्दा समस्या आएको कृषकको भनाइ छ ।
धान बिक्रीबाट आएको रकमले गहुँ खेती गर्नुपर्ने बाध्यता किसानलाई छ । धेरैजस्तो किसानले खाद्यको भर नपरी अन्य व्यापारीलाई धान बिक्री गरेका छन् । लागतअनुसारको मूल्य पाउँदा किसान खुसी भएका छन् ।
खाद्यको प्रादेशिक कार्यालय धनगढीले चालू आर्थिक वर्षमा कैलाली र कञ्चनपुरबाट ७० हजार क्विन्टलभन्दा बढी धान खरिद गर्ने लक्ष्य लिएको छ ।
धान बिक्री गर्ने किसान धेरै हुँदा व्यवस्थापनमा केही समस्या भएको धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले बताउनुभयो ।
बेलैमा मलखाद नपाइने, धान खरिद नहुने, उत्पादन बिक्री गर्नकै लागि धेरै दुःख–कष्ट भोग्नुपर्नेजस्ता समस्या किसानले खेपिरहेका छन् । किसानका लागि राज्यपक्षले अब गम्भीर भएर सोच्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्