१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘जनता आऊ, राजा ल्याऊ, देश बचाऊ’ भन्ने बेला भयो’


0
Shares

काठमाडौं, मंसिर २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक भएको बताउनुभएको छ ।

पार्टीको झन्डोत्तोलन तथा चुनाव चिह्न अनावरण कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले राजसंस्था पुनःस्थापना गर्ने एजेण्डा कुनै व्यक्तिको स्वार्थसँग जोडिएको नभई राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौमिकतासँग गाँसिएको विषय भएको बताउनुभयो ।

अहिले राजसंस्थाको पुनःस्थापनाका लागि निस्किएको जनप्रदर्शन जनताको भावनाको अभिव्यक्ति भएको उहाँको भनाइ थियो ।

अध्यक्ष थापाले अब ‘राजा आऊ देश बचाउन’ भन्नेभन्दा पनि ‘जनता आऊ, राजा ल्याऊ, देश बचाऊ’ भन्ने बेला भएको बताउनुभयो ।

पार्टीका अर्का अध्यक्ष पशुपति शमशेर राणाले पार्टीले राजसंस्था र हिन्दुराष्ट्र गरी दुईओटा विषयलाई मूल्य मान्यताको रुपमा स्थापित गरेको बताउनुभयो ।

देशलाई जोगाउन संवैधानिक राजसंस्था आवश्यक : लोहनी
पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि पार्टीले राजसंस्था र हिन्दुधर्मलाई पुनःस्थापना गर्ने स्पष्ट एजेन्डा लिएर अगाडि बढेको बताउनुभयो ।

उहाँले अहिले देशलाई जोगाउन संवैधानिक राजसंस्था आवश्यक रहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेताहरुले केही समययता स्वतःस्फूर्तरुपमा हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि जनता सडकमा उत्रिएको र सबै राजनीतिक शक्तिहरुले उत्सुकताका साथ हेरिराखेको बताएका थिए ।

अन्तर्राष्ट्रिय समुदायले पनि उत्सुकताका साथ हेरिरहेकाले अब पार्टीले नेतृत्व गरेर आन्दोलनलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बेला आएको बताए ।