
काठमाडौं, मंसिर २२ । कोरोनाभाइरसको महामारीले खेलकुद क्षेत्र अन्योलग्रस्त रहेका बेलामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुदका विषयमा निर्णय गर्न राष्ट्रिय खेल संघलाई छलफलका लागि बोलाएको छ ।
आउँदो फागुनमा नवौं राष्ट्रिय खेलकुद गर्न सम्भव नभएपछि राखेपले अबको सम्भावना र तयारीका विषयमा छलफल गर्न राष्ट्रिय खेल संघलाई बुधबार छलफलमा बोलाएको हो ।
राखेप प्रवक्तासमेत रहेका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले नवौंको विषयमा छलफल गर्न राष्ट्रिय संघको बैठक आह्वान गरिएको बताउनुभयो ।
उहाँले संघहरुबाट कस्तो राय आउँछ, सोहीअनुसार निर्णय लिन आठौं राष्ट्रिय खेलकुदमा सहभागी ३१ राष्ट्रिय संघलाई छलफलमा बोलाएको जानकारी दिनुभयो ।
युवा तथा खेलकुद मन्त्रालयमा यही मंसिर १८ गते बसेको मन्त्रीस्तरीय बैठकले नवौंको विषयमा राष्ट्रिय संघसँग छलफल गरेर निर्णय लिने निष्कर्ष निकालेको थियो ।
गएको वर्षको फागुनदेखि खेलकुदका गतिविधि ठप्प प्रायः छन् । आठौं राष्ट्रिय खेलकुद समापनकै दिन नवौं राष्ट्रिय खेलकुद आउँदो फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्