
काठमाडौं, मंसिर २२ । औषधि व्यवस्था विभागले पूरक खानाको रुपमा नेपाल भित्रिने वस्तुहरुलाई बन्देज लगाएपछि विवाद उत्पन्न भएको छ ।
राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा परेको उजुरीले विवादको रहस्य खुलेको हो ।
बजारमा भित्रिएको पूरक आहार, विभिन्न टोरिक भिटामिनलगायतका वस्तुहरुलाई औषधि व्यवस्था विभागले आयातमा रोक लगाएपछि विवाद उत्पन्न भएको हो ।
अधिवक्ता राजीव बास्तोलाले गलत ऐन प्रयोग भई प्रत्यायोजित विधायनको उल्लंघन भएको भन्दै समितिमा उजुरी गर्नुभएको छ ।
औषधि व्यवस्था विभागले भने व्यवसायीहरुले औषधिजन्य वस्तुहरुमध्ये कुनैलाई औषधिको रुपमा र कुनैलाई पूरक आहारको रुपमा भित्र्याएर कर छलेको आरोप लगाएको छ ।
यता, स्वास्थ्य सेवा विभागले औषधि विक्रेताले औषधि र टोनिक तथा पूरक आहारलाई नछुट्ट्याई बिक्री–वितरण गर्दा समस्या देखिएको बताएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूरक आहारको रुपमा प्रयोग हुने भिटामिन र टोनिक आहारलाई खाद्य वस्तुभित्र राख्नुपर्ने बताएको छ ।
सरकारले औषधि व्यवस्था विभागमार्फत् पूरक आहारको रुपमा नेपाल भित्रने खाद्यवस्तुलाई औषधिको रुपमा मात्र आयात गर्न अनुमति दिने गरेको छ । औषधि तथा औषधिजन्य वस्तु आयातकर्ताले यसको विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्