
काठमाडौं, मंसिर २५ । आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहारपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्धको आन्दोलनका लागि जुर्मुराएको छ ।
ओली सरकारले देशमा सर्वसत्तावाद लाद्न खोजेको भन्दै कांग्रेस सडक संघर्षको तयारीमा उभिएको हो ।
सरकारलाई जवाफदेही बनाउने प्रयास नगरेको आरोप खेपिरहेको कांग्रेसले आफ्नो भूमिका स्थापित गर्न पनि सडक संघर्षलाई रोजेको देखिन्छ ।
मंसिर २९ गते ७७ जिल्लाका मुख्य सहर र जिल्ला सदरमुकामहरुमा कांग्रेसले शक्ति प्रदर्शन गर्दैछ ।
अघिल्लो साता वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहारले कांग्रेसलाई सडक संघर्ष गर्ने आधार तयार भएकोजस्तो देखिन्छ । सडक संघर्षमार्फत् कांग्रेसले देशमा पारदर्शीता र सुशासनको ‘ग्राफ’ घटेर भ्रष्टाचार बढेको भन्दै त्यसको भन्डाफोर गर्ने भनेको छ ।
तर, कोरोना महामारी र त्यसबाट सिर्जित समस्या, देशमा बढ्दो आपराधिक घटना, जनजीविकाका मुद्दा, ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनलगायतका विषयमा मौन बनेको कांग्रेसले एकाएक आफ्ना नेताविरुद्ध भएको घटनामा मात्र सरकारको दमनकारी नीति तथा मुलुकमा सर्वसत्तावाद र जनजीवन पिल्सिएको देख्न थालेकोजस्तो देखिन्छ ।
सरकारको कार्यशैलीलाई लिएर विभिन्न पक्षबाट लाग्दै आएको आरोपको भन्डाफोर गर्न नसकेको कांग्रेसको अहिलेको कदम जनताको ‘सेन्टिमेन्ट’ तान्ने मेलोमात्रै भएको भन्ने पनि छन् । तर, कांग्रेस नेता यसलाई स्वीकार गर्न तयार छैनन् ।
सत्तारुढ दलभित्रको शक्ति संघर्षले संसद बन्धक बन्दा जनताको जीवन प्रधान कि सत्ताको राजनीति ? भन्ने प्रश्न उठाउँदै हठातमा कांग्रेसले १७० भन्दा बढी विज्ञप्ति निकाले पनि त्यसको सुनुवाइ भएन ।
सत्तारुढ दल दुर्घटनामा पर्ला र कुर्सीको खेलाडी आफू बनौंला भन्ने शीर्ष नेतृत्वको महत्वाकाक्षांले कांग्रेसले आफ्नो भूमिका प्रभावकारी बनाउन नसकको कांग्रेसकै कतिपय नेताको टिप्पणी छ ।
अझ संवैधानिक आयोगहरुमा भागबन्डा खोज्दै सभापति शेरबहादुर देउवा बालुवाटार छिर्दा सत्ता सहकार्यकै प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीबाट आयो । तर, अहिले आएर सरकारविरुद्धै सडक संघर्षमा उत्रिनुपर्ने बाध्यतामा उभिएको कांग्रेसको यो विरोध प्रारम्भिकमात्रै भएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशहरण महत बताउनुहुन्छ ।
यसअघि पनि कांग्रेसले कोराना महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको, भ्रष्टाचार बढेकोलगायतका विषयलाई टेकेर देशव्यापीरुपमा विरोध जनाएको थियो । तर, त्यो विरोधलाई सरकारले पूरै बेवास्ता गरेको देखियो । कांग्रेस आफैं पनि आन्तरिक घर झगडामै रुमल्लिन थाल्यो ।
यसैले पनि अहिलेको चिसो मौसममा सडक तताउन खोजिरहेको कांग्रेसको संघर्षले सरकारमाथि कस्तो दबाब पर्ला, त्यो भने प्रतीक्षाकै विषय छ ।
प्रतिक्रिया दिनुहोस्