
पोखरा, मंसिर २६ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिमा कुनै व्यक्तिले गल्ती गर्यो भन्दैमा सबै जनप्रतिनिधिलाई दोषारोपण गर्न नहुने बताउनुभएको छ ।
पत्रकार दुर्गा अधिकारीद्वारा लिखित ‘समाज, सञ्चार र राजनीति’ विषयक लेखसंग्रहको शुक्रबार पोखरामा विमोचन गर्दै उहाँले एउटाले गरेको गल्तीको भागीदार सबैलाई बनाउन नहुने बताउनुभयो ।
केही व्यक्तिले खराब काम गरे भन्दैमा सबै राजनीतिकर्मी खराबै हुन् भनी सञ्चारजगत्ले पनि समाचार प्रकाशन/प्रसारण गर्न नहुने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो ।
अर्को एक प्रसंगमा अध्यक्ष तिमिल्सिनाले कोरोना नियन्त्रणका लागि साधन–स्रोतमात्र नभइ सतर्कता जरुरी रहेको बताउनुभयो ।
उहाँले कोभिड–१९ नियन्त्रणमा ठूला र धनी राष्ट्रलाई समेत हम्मे–हम्मे परेको अवस्थामा नेपालजस्तो गरिब मुलुकले जे–जति नियन्त्रण प्रयास गरेको छ, त्यो सन्तोषजनक रहेको बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले अमेरिकाजस्तो साधन–स्रोतयुक्त मुलुकमा पनि विश्वमै सबैभन्दा धेरै मृत्युदर हुनुले सतर्कताको खाँचो औंल्याएको बताउनुभयो ।
अधिकारीद्वारा लिखित पुस्तकमा राजनीति, महिला अधिकार, सञ्चारजगत्, समसामयिक घटनाक्रम, सामाजिक विकृति–विसंगतिलगायत विषयवस्तु समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्