
काठमाडौं, मंसिर २६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्षका प्रस्ताव अध्ययनका लागि भन्दै स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरेका नेताहरु अहिले पार्टीभित्र आफ्नो बहुमत बलियो बनाउने दौडधुपमा छन् ।
प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले विभिन्न स्थानमा गुटगत भेला गर्दै पार्टीभित्र आफ्नो बहुमत रहेको बताइरहँदा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका नेताले समेत तल्लो तहसम्म आफ्नो बहुमत भएको दाबी गर्न गुटका भेला तीव्र पारेका छन् ।
शीर्ष नेतृत्वबीच सहमति गर्न सात दिनको समय दिएर स्थायी कमिटी बैठक स्थगित गरिएपनि नेताहरु विवाद मिलाउनेभन्दा गुटगत भेलामा सक्रिय भएका छन् ।
पछिल्लो समय ओली र दाहाल–नेपाल पक्षका नेताले तल्लो तहसम्म आफ्नो बहुमत भएको दाबी गर्न गुटका भेला गर्न थालेका हुन् ।
मदन भण्डारी फाउन्डेसनका नाममा ओलीले प्रदेश नम्बर–१, कर्णाली प्रदेशलगायत विभिन्न स्थानमा यसअघि नै भेला गर्नुभएको थियो भने दाहाल–नेपाल समूहले बिहीबार काठमाडौंमा वाग्मती प्रदेश जिल्ला पदाधिकारीको भेला गरेको छ ।
ओली समूहले बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला गराएपछि विभिन्न स्थानमा आफ्नो समूहलाई प्रशिक्षण दिइरहेको दाहाल–नेपाल पक्षले केही दिनअघिमात्र थापाथली क्याम्पसमा विद्यार्थी भेला गराएका थिए ।
स्थायी कमिटीमा पेस भएका पत्र र राजनीतिक प्रस्तावहरू केन्द्रीय कमिटी बैठकमा लैजानुपर्ने अडान राखेको दाहाल–नेपाल खेमाले आफ्नो समीकरणलाई तल्लो तहसम्म लैजाने तयारीमा छ ।
आइतबार फेरि स्थायी कमिटी बैठक बस्ने भएपनि पछिल्ला पाँच दिनमा अध्यक्षद्वय ओली र दाहालबीच एकपटकमात्रै भेटघाट भएको छ । दोस्रो तहका नेताहरुबीच पनि विवाद मिलाउनेतर्फ खासै सक्रिय देखिएका छैनन् ।
बरु, दाहाल–नेपाल पक्षधर ओलीले कम्तीमा एक पद छाड्न तयार नभए केन्द्रीय कमिटीबाटै छिनोफानो गर्ने तयारी गरिरहेका छन् ।
ओली पक्ष भने कमिटीगत तहमा हुने समीकरणभन्दा आपसी समझदारीमै विवादको अवतरण गरिनुपर्ने अडानमा देखिएको छ ।
स्थायी कमिटीले उपलब्ध गराएको समयमा अनौपचारिक छलफलबाट विवाद समाधान गर्नेभन्दा आफ्नो गुट बलियो रहेको प्रमाणित गर्ने रणनीतिमा जुट्दा नेताहरुबीच झनै तिक्तता बढाएको छ ।
दुवै पक्ष एकार्कालाई पेलेरै जाने सोचमा रहेकाले नेकपा विवाद सजिलै हल हुने सम्भावना देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्