१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले ल्याएका राहत प्याकेजबाट अधिकतम लाभ लिन निजी क्षेत्रलाई अर्थमन्त्रीको सुझाव


0
Shares

काठमाडौं, मंसिर २७ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा कोभिड–१९ को असर न्यूनीकरणका लागि सरकारले घोषणा गरेका कार्यक्रमबाट निजी क्षेत्रले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन सरकारले ल्याएका राहतका प्याकेजबाट निजी क्षेत्रले अधिकतम लाभ लिनसक्नुपर्ने बताउनुभएको हो ।

सरकारले घोषणा गरेका राहत, सहुलियत र उत्प्रेरणाका कार्यक्रमको अधिकतम उपयोग निजी क्षेत्रले गर्न सके देशको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सकिने दाबीसमेत उहाँले गर्नुभयो ।

सरकारले घोषणा गरेका यस्ता प्रबन्धहरु पर्याप्त नभएमा निजी क्षेत्रसँग छलफल गर्न आफू तयार रहेको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।

यस्तै, कोभिडबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उठाउन सरकारले के कस्ता निर्णय गर्नुपर्छ सुझाव दिनसमेत निजी क्षेत्रसँग उहाँले आग्रह गर्नुभयो ।

निजी क्षेत्र उत्साह र आत्मविश्वासको साथमा अगाडि बढेमा सरकारले हात र साथ दिन तयार रहेको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन कोभिडको मापदण्ड पालना गरेर व्यावसायिक गतिविधिलाई अगाडि बढाउनुको विकल्प नरहेको बताउनुभयो ।

कोभिडको बीचमा पनि कतिपय सूचकहरु सकारात्मक रहेकाले अर्थतन्त्रमा ठूलो क्षति नपुगेको दाबी गभर्नर अधिकारीको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिडबाट प्रभावित अर्थतन्त्रको सुधारका लागि सरकारले श्वेतपत्र जारी गर्नुपर्ने बताउनुभयो ।

यस्तै, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न आयकरमा सहुलियत दिनुपर्ने, भ्याटको दर घटाउनुपर्ने, चेक बाउन्सको समस्या समाधानका लागि छुट्टै नीति–नियम ल्याउनुपर्ने मागसमेत उहाँले गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको कारण व्यवसाय बन्द हुने अथवा क्षमताअनुसार सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

त्यसैले बन्द उद्योग, व्यवसायलाई पुनःस्थापना गरी रोजगारी अभिवृद्धि गर्ने, सरकारी राजश्व बढाउने सम्बन्धमा सरकारको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको उहाँको भनाइ थियो ।