
चितवन, मंसिर २७ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा टिम नारायणीले विजयी सुरुआत गरेको छ ।
वाग्मती टिमलाई सुपरओभरमा पराजित गर्दै नारायणीले विजयी सुरुआत गरेको हो ।
सुपरओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको वाग्मतीले २० रनमात्र बनाउन सक्यो ।
यसअघि, वाग्मती र नारायणीले समान ११७ रन बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो ।
वाग्मती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा तीन टिम वाग्मती, नारायणी र राप्तीको सहभागिता रहेको चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिनुभयो ।
वाग्मतीको कप्तानी राष्ट्रिय टोलीका कप्तानसमेत रहनुभएका ज्ञानेन्द्र मल्लले गर्नुभएको छ ।
यस्तै, नारायणीको कप्तान सुवास खकुरेल रहनुभएको छ । यसअघि, पूर्वराष्ट्रिय कप्तान पारस खड्काले कप्तानी गर्ने भनिएकामा पारसलाई कोरोना पुष्टि भएपछि सुवासले कप्तानी सम्हाल्नुभएको हो ।
राप्तीको कप्तानमा विनोद भण्डारी रहनुभएको छ ।
प्रतियोगिताको दोस्रो खेलमा आइतबार वाग्मती र राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन् ।
शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल मंसिर ३० गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको वाग्मती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्य भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्