२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नाइजेरियामा हतियाधारीको आक्रमणपछि तीन सय विद्यार्थी सम्पर्कविहीन, खोजी कार्य जारी


0
Shares

काठमाडौं । नाइजेरियाको उत्तर पश्चिम कटसिना राज्यको कंकारा शहरमा विद्रोहीको आक्रमणपछि तीन सय भन्दा बढी विद्यार्थी हराइरहेका छन् ।

गत शुक्रबार बन्दुकधारीहरुले विद्यालयमै आक्रमण गरेपछि ती विद्यार्थी सम्पर्कविहीन भएको अधिकारीहरुले जनाएका छन् ।

कटासिन राज्यका गभर्नर अमिनु मसारीले ती विद्यार्थी हराइरहेको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

बन्दुकधारीको आक्रमणबाट बच्न सफल केही विद्यार्थी जंगलमा फेला परेको बताइएको छ ।

ती विद्यार्थी विद्रोहीले अपहरण गरेको हो वा आफैं भागेर जंगलमा पुगेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

घटनाको बारेमा कसैले जिम्मेवारी नलिएको बताइएको छ । उक्त क्षेत्रमा पछिल्लो समय विद्रोही समूह बोकोहरामका गतिविधि तीव्र रुपमा बढेकाले घटनामा उसैको संलग्नता हुनसक्ने सरकारी अधिकारीहरुले आंकलन गरेका छन् ।

सन् २०१८ मा बोको हरामले उत्तरपूर्वी नाइजेरियाको दप्ची शहरमा एक सय भन्दा बढी विद्यार्थीलाई अपहरण गरेका थिए ।

यस्तै सन् २०१४ मा पनि सोही समूहले चिबोक शहरमा २७० जना बालबालिकालाई विद्यालयबाटै नियन्त्रणमा लिएका थिए ।

नाइजेरियामा पछिल्लो समय हत्या हिंसा र अपहरणका घटना बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

गत महिना मात्रै बोर्नो राज्यमा सशस्त्र समूहले धेरै किसानको घाँटी रेटेर हत्या गरेका थिए । एजेन्सी