
काठमाडौं । इरानमा पत्रकारलाई मृत्युदण्ड दिएलगत्तै चार वटा युरोपेली देशले इरानमा सञ्चालन गरिरहेको अनलाइन व्यापार फोरममा सहभागी नहुने जनाएका छन् ।
आज हुने भनिएको उक्त कार्यक्रममा फ्रान्स, इटाली, जर्मन र अष्ट्रियाका राजदूतहरुले बहिस्कार गर्ने बीबीसीले जनाएको छ ।
इरानी पत्रकार रुहल्लाह जामको हत्यापछि इरान र युरोपेली देशहरुबीच कुटनीतिक सम्बन्ध चिसिएको छ । सन् २०१७ मा इरानमा भएको वृहत प्रदर्शनको भिडियो अनलाइनमा राखेसँगै जामले फ्रान्समा शरण लिएका थिए ।
केही समयपछि इराकाट नियन्त्रणमा लिएर उनलाई इरान लगिएको थियो । उनलाई शनिबार मात्र फाँसी दिइएको थियो । इरानको उक्त निर्णयको सर्वत्र विरोध भइरहेको छ ।
युरोपियन युनियन, संयुक्त राष्ट्रसंघलगायत विभिन्न दातृ निकाययले इरानको उक्त कदमको कडा आलोचना गरेका छन् ।
सुधारवादी धर्मगुरु मोहम्मद अली जामका छोरा रुहल्लाह जामले लोकप्रिय सरकारको विरोध गर्दै अनलाइन पोर्टल चलाएको आरोप लगाइएको छ ।
उनीमाथि सन् २०१७–०१८ को सरकारविरोधी प्रदर्शन गर्न आन्दोलनकारीलाई उक्साएको आरोप पनि लगाइएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्