२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


त्रिविका शिक्षाध्यक्षलाई पाँच हजार जरिवाना


0
Shares

काठमाडौं, मंसिर २९ । राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई पाँच हजार रुपैयाँ जरिवाना गर्न आदेश दिएको छ ।

सूचना लुकाउने कार्यमा संलग्न भएको, आयोगको आदेश, पत्राचारको बेवास्ता गरी विषयान्तर गरी पन्छिन खोजेको ठहर आयोगको छ ।

राष्ट्रिय सतर्कता केन्द्र तथा राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयलाई अर्को आदेश नभएसम्म विवादित परीक्षाको उत्तरपुस्तिकालगायत परीक्षासम्बन्धी कागजातहरु नष्ट नगर्नू भनी दिएको आदेशविपरीत उत्तरपुस्तिकाहरु नष्ट गरिएको थियो ।

शिक्षाध्यक्ष आफ्नो जिम्मेवारी पालनामा पूर्णतः गैरजिम्मेवार रहेको आयोगको ठहर छ ।

२०७५ पुस २९ गते भएको भौतिकशास्त्र प्रथम सेमेस्टरअन्तर्गत् क्वान्टम मेकानिक्स विषयको परीक्षामा पुराना कोर्सका विद्यार्थीलाई नयाँ कोर्सबाट प्रश्न सोधिएपछि विद्यार्थीहरुले तत्काल परीक्षा बहिष्कार गर्दै पुनः परीक्षाको माग गरेका थिए ।

परीक्षार्थी आशिष पौडेलले २०७६ असोज ९ गते पुराना कोर्सका सम्पूर्ण परीक्षार्थीको उत्तरपुस्तिका सुरक्षित गरी पाऊँ भनी पुनरावेदन दिनुभएको थियो ।

सोहीक्रममा सतर्कता केन्द्र र सूचना आयोगले मुद्दा छिनोफानो नभएसम्म विवादित परीक्षाका उत्तरपुस्तिकाहरु सुरक्षित राख्न त्रिविलाई आदेश दिएको थियो ।

त्यस्तै, सर्वोच्च अदालतमा रिट दायर भएपछि निवेदनको रिट अन्तिम किनारा नलागेसम्म उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित कागजातहरु नधुल्याउन अन्तरिम आदेश जारी गरेको थियो ।

डीनको कार्यालयले परीक्षाफल प्रकाशन भएको मितिले चार महिनापछि उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित कागजातहरु धुल्याउन सकिने व्यवस्थाअनुसार कागजात धुल्याएको दाबी गर्दै आएको छ ।