१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकार अपराधी हो : केसी


0
Shares

पोखरा, मंसिर २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले वर्तमान सरकारलाई ‘अपराधी सरकार’को संज्ञा दिनुभएको छ ।

उहाँले कोरोना संक्रमण नियन्त्रण गर्नुको सट्टा सरकारले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरी जनतालाई मार्न खोजेको आरोप लगाउनुभयो ।

देशव्यापी आन्दोलनअन्तर्गत् सोमबार कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता केसीले कम्युनिस्टहरुले नेपाललाई भ्रष्टाचारी मुलुकको रुपमा चिनाएको आरोप पनि लगाउनुभयो ।

लोकतन्त्र र संविधानको जामा ओढेर सरकारले निरंकुश शासन चलाउन खोजेको उहाँको भनाइ थियो ।

कांग्रेसले राणा, पञ्चायत र राजा फालेको भन्दै उहाँले कम्युनिस्टविरुद्ध चौथो संघर्षका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

‘अहिलेको आन्दोलन कास्टिङमात्र हो । चौथो आन्दोलनको लागि तयार हुनुहोला’–उहाँले भन्नुभयो ।

नेता केसीले कम्युनिस्टहरु लोकतन्त्रको संरक्षक हुन नसक्ने भन्दै खबरदारी आवश्यक रहेको बताउनुभयो ।

सभामा कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाटले कम्युनिस्टको अधिनायकवादविरुद्ध एक भएर लड्नुपर्ने बेला आएको बताउनुभयो ।

पूर्वमन्त्री यज्ञबहादुर थापाले कम्युनिस्ट सरकार भ्रष्टाचारमा लिप्त हुँदा नेपाली जनताले दुःख पाएको जिकिर गर्नुभयो ।

सभामा कास्की कांग्रेसका सभापति कृष्ण केसी, तरुण दल कास्की अध्यक्ष मनोज गुरुङ, कांग्रेस नेता खेमराज पौडेल, सुदीपमोहन भट्टराई, लक्ष्मी पाण्डेलगायतले सरकारका गतिविधिविरुद्ध बोलेका थिए ।

यसअघि, पोखराको चिप्लेढुंगाबाट सुरु भएको कांग्रेसकोर्‍याली पोखरा बजार परिक्रमा गरी पृथ्वीचोकमा आई विरोधसभामा परिणत भएको थियो ।

प्रदर्शनका सहभागीहरुले वर्तमान सरकारको काम–कारबाहीप्रति टिप्पणी गर्दै राष्ट्रपति, प्रधानमन्त्रीविरुद्धसमेत चर्को नाराबाजी गरेका थिए ।